काठमाडौँ, ६ भदौ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेतृत्व सही ढंगको नआएसम्म व्यवस्था परिवर्तन गरेर मात्र समाज परिवर्तन नहुने बताउनुभएको छ ।
बिहीबार नेपाली कांग्रेसको पेशागत एवम् बुद्धिजीवि विभागले स्व.प्रदीप गिरिको दोस्रो स्मृति दिवसको अवसरमा आयोजित अन्तरक्रियामा उहाँले जनताले लडेर व्यवस्था परिवर्तन गरेको तर नेतृत्व विवेकशील हुन नसक्दा समाज परिवर्तन नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘व्यवस्था परिवर्तन गरेर समाज परिवर्तन हुँदैन । जबसम्म नेतृत्वको इच्छा शक्ति हुँदैन तबसम्म परिवर्तन सम्भव छैन । महिला, दलित, थारु अगाडि आएपनि कसैको पछि लागेर मात्र आउन सके । गल्ती यही भयो । नेतृत्व विवेकशील हुन सकेन, नेतृत्व दुरदर्शी भएन । नेतृत्व आफ्नो परिवार र सम्पत्तिभन्दा बाहिर जान सकेन ।’
यस्तै, उहाँले समाजवादको कुरा गरेर मात्र केही नहुने भन्दै जनताले महसुस हुने हिसाबले समाजवाद ल्याउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘समाजवादको कुरा गरेर मात्र हुन्छ र ? जनतालाई केही दिनु नि पर्यो नि । आफू मात्र बन्ने समाजवाद, आफू मात्र हिँड्ने समाजवाद, आफ्नो लागि मात्र समाजवाद खोजेर हुन्छ ? त्यो समाजवाद होइन, ठगवाद हुन्छ । अब वास्तविक समाजवादतिर हामी लाग्नुपर्छ ।’
नेपालजस्तो धनी र राम्रो देश विश्वमा कतै नभए पनि नेपालका युवाहरु देशमा बस्न नचहाने भन्दै यो सबै गलत नेतृत्व, स्वार्थी व्यक्तिको छनोटको कारणले भएको उहाँको भनाइ छ ।