काठमाडौँ, १ भदौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गणेश पण्डितले दिएको योगदानको मूल्यांकन सही कोणबाट गरिनुपर्ने बताउनुभएको छ ।
शनिबार वामपन्थी नेता पूर्वसांसद गणेश पण्डितको ‘स्मृति ग्रन्थ’ लोकार्पण कार्यक्रममा उहाँले समाज र राष्ट्रका लागि योगदान गर्नेहरुको मूल्यांकन सन्दर्भअनुसार गर्नुपर्ने भन्दै त्यसमा पण्डितलाई पनि महत्त्वका साथ राख्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कुनैपनि व्यक्तिले समाज र राष्ट्रका लागि दिने योगदानको घनत्वलाई समय र सन्दर्भ अनुसार मापन र मूल्यांकन गर्नुपर्छ । गणेश पण्डितको मूल्यांकन पनि यही कोणबाट गरिनुपर्छ ।’
यसका साथै, उहाँले गणेश पण्डितले व्यक्तिगत लाभका धेरै अवसर हुँदा पनि जनपक्षको राजनीतिमा यातना भोगेर सक्रियताका साथ अगाडि बढेको भन्दै उहाँको यात्राबाट वर्तमान राजनीतिज्ञहरुले शिक्षा लिनुपर्ने बताउनुभयो ।
यस्तै, उहाँले प्रजातन्त्रको पुनःस्थापनापछि २०४८ सालमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचन नुवाकोट जिल्लाबाट नेकपा (एमाले)को तर्फबाट विजयी भइ संसद्मा समेत प्रभावकारी भूमिका खेलेको भन्दै पण्डितको तारिफ गर्नुभयो ।