काठमाडौँ, १ भदौ । नेकपा (एमाले) का नेता एवम् पूर्वउपप्रधानमन्त्री डा.भीम रावलले कांग्रेस–एमाले गठबन्धन सरकार संविधानको मर्मविपरीत बनेको टिप्पणी गर्नुभएको छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षतकार कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकार नेपालको संविधानको धारा २६९ को मर्मविपरीत रहेको बताउनुभयो ।
‘नेपालको संविधानको धारा २६९ मा राजनीतिक दलहरुले निश्चित दर्शन, कार्यक्रम र नीतिको आधारमा आफूलाई अगाडि बढाउनुपर्छ भन्ने कुरा उल्लेख गरिएको छ र यो प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्था हो । यो बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्थामा विपरीत सिद्धान्त भएका दुई ठुला राजनीतिक दलहरु एक ठाउँमा आइसकेपछि उनीहरुले के गर्छन् ? भन्ने कुरा साह्रै महत्त्वपूर्ण हुन्छ । यो सामान्य राजनीतिक प्रक्रियामा राजनीतिक दलहरुले जनताको बीचमा गएर आफन कार्यक्रम, नीति र सिद्धान्त अगाडि सार्ने र जनताको मत माग्ने । जसले बहुमत ल्याउँछ उसले सरकार बनाउँछ । कसैले बहुमत ल्याएन भने त्यस्तो अवस्थामा विचार मिल्ने दलहरु मिलेर सरकार गठन गर्छन् । यो सामान्य नेपालको संविधानमा परिकल्पना गरिएको कुरा हो,’ उहाँले भन्नुभयो ।
विपरीत सिद्धान्त भएका दुई ठुला दलहरुले सरकार बनाएकाले यी दलले राष्ट्रको बृहत्तर हितलाई ध्यानमा राखेर राष्ट्रिय सुरक्षा, नेपालको सार्वभौमता, क्षत्रीय अखण्डता, कृषि, उद्योग, स्वास्थ्य, सञ्चार क्षेत्रमा काम गर्छन कि गर्दैनन् भन्ने कुरा परीक्षाको रुपमा रहेको उहाँको भनाइ छ ।
त्यस्तै, संविधानको मर्मविपरीत समानुपातिक प्रणालीको अभ्यास भइरहेको उहाँले बताउनुभयो । अहिले समानुपातिकको नाममा श्रीमती, आफन्त र पैसा दिने मान्छेहरुलाई दलहरुले सांसद बनाइरहेको उहाँको भनाइ छ । समानुपातिक प्रणालीको यसैगरी गलत अभ्यास गरिरहने हो भने खारेज गरिनु उपयुक्त हुने नेता रावलको सुझाव छ ।
साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि गणतन्त्र र संविधानको समावेशी, समानुपातिक प्रणालीमा केही पनि नगरी संविधान संशोधन हुन्छ भन्ने अभिव्यक्ति दिएको स्मरण गराउँदै उहाँले एमाले–कांग्रेस स्पष्ट दृष्टिकोणका साथ अगाडि नबढेको प्रष्ट भएको बताउनुभयो ।
एमाले–कांग्रेस गठबन्धन सरकारले पनि राजनीतिक स्थायित्व दिन नसक्ने उहाँको ठोकुवा छ । ओली दुई वर्षका लागिमात्रै प्रधानमन्त्री बनेको र प्रदेश प्रमुखदेखि मुख्यमन्त्रीम्म भागबण्डामा रहेको र निश्चित समयपछि परिवर्तन हुने बताउँदै उहाँले त्यसलाई राजनीतिक स्थायित्व भन्न नसकिने बताउनुभयो । कांग्रेस–एमालेले भनेको राजनीतिक स्थायित्व व्यवहारमा प्रमाणित नहुने उहाँको दाबी छ ।
त्यस्तै, कांग्रेस–एमालेले भन्ने गरेको राष्ट्रिय सहमतिको व्यवस्था नेपालको संविधानमा नै नरहेको उहाँको दाबी छ । पहिला एमाले–कांग्रेस एकअर्काको विरोधी रहेको स्मरण गराउँदै अब विरोध गर्ने ठाउँ सकिएको बताउनुभयो ।