सकरात्मक सोचको विकास गरेर विदेशिने क्रम रोक्नुपर्छ : उपप्रधानमन्त्री सिंह

46

काठमाडौँ, ३२ साउन । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई जगेर्ना गर्न सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । उहाँले व्यवस्थाप्रति नकरात्मक सोच हाबी भएको भन्दै सकरात्मक विचार आवश्यक रहेको औँल्याउनुभयो ।

काठमाडौँ पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजले शुक्रबारदेखि आयोजना गरेको १७औँ ‘केसीसी एक्जिबिट २०२४’ को उदघाटन समारोहमा बोल्दै मन्त्री सिंहले समाजमा नकारात्मक कुराहरुमा मान्छेहरुले बढि समय खेर फालिरहेको बताउनुभयो ।

साथै उहाँले यो भएन उ भएन भनेर भन्न सजिलो ठान्ने तर जिम्मेवारीमा पुगिसकेपछि काम गर्न नसक्ने परिपाटी रहेको बताउनुभयो । उहाँले नेपालमा पढ्ने विद्यार्थीहरुको संख्या घट्दै गइरहेको र विदेशिनेक्रम बढिरहेको बताउनुभयो ।

नेपालमा बसेर केही गर्छु भन्नु भावनाको विकास गर्न आवश्यक रहेको बताउँदै उहाँले स्वदेशमै बस्न सक्ने अवस्था सिर्जना गर्न नागरिकहरु नै उत्तरदायी भएर अधिकार संरक्षणमा जुट्नुपर्ने बताउनुभयो ।

‘कस्तो खालको ऐन र नीति बनाउने हो, जनप्रतिनिधिलाई सुझाव दिनुहोला । सूचना प्रविधिको वा एआईको जमानामा आफूमा भएको सीप आदनप्रदान गर्नसक्नुपर्छ । ग्लोबल भिलेजको जमानामा देश छाडेर जानु पर्दैन,’ उहाँको भनाइ थियो ।

पूर्वमन्त्री गणेश साहले हरेक विद्यार्थीले गुरुको आशिर्वाद लिनुपर्ने बताउँदै ज्ञानवर्द्धक क्षेत्रमा विद्यार्थीहरु आकर्षित हुनुपर्ने बताउनुभयो । आफ्नो ज्ञान विश्वमा जोड्न सुझाव दिँदै विद्यार्थीहरु सिर्जनशिल र क्रियाशील हुन सुझाव दिनुभयो । उहाँले मुलुकबाट पञ्चायती र राजतन्त्र हटाउन सफल भएपनि गरिबी हटाउन नसकेको बताउँदै नेपाली विद्यार्थीहरुलाई विदेश जान रोक्नुपर्ने बताउनुभयो ।

प्राध्यापक रामकृष्ण रेग्मीले समय सापेक्षित शिक्षाका माध्यमबाट कान्तिपुर सिटी कलेजले राम्रो उपलब्धि हासिल गरेको बताउनुभयो । नेपाल व्यवस्थापन संघ म्यानका महासचिव इन्द्र कुमार श्रेष्ठले केसीसी एक्जिबिट निरन्तरता मात्र नभइ रुपान्तरणका लागि भएको बताउँदै यस्ता कार्यक्रमले विद्यार्थीलाई व्यवहारिक शिक्षा प्रदान गर्ने बताउनुभयो । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ)का अध्यक्ष रणजितकुमार पोदारले केसीसी एक्जिबिटजस्ता कार्यक्रमहरु हरेक कलेजमा हुनुपर्ने बताउँदै विदेशिनेक्रम रोकिनुपर्ने बताउनुभयो । उहाँले सीप हातमा भएका विद्यार्थीहरु स्वदेशमा रोजगारी दिनुपर्ने धारणा राख्नुभयो ।

पूर्वान्चल विश्वविद्यालय इन्जिनियरिङ विभागका डिन ई.देवी प्रसाद भट्टराईले कक्षा कोठाभित्र सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताउँदै उच्च शिक्षा अध्ययनका नाममा विदेश पलायन रोक्नुपर्ने बताउनुभयो । उहाँले प्रत्येक वर्ष उच्च अध्ययनका नाममा वार्षिक एक खर्ब रुपैयाँ विदेशिने गरेको उल्लेख गर्दै स्वदेशमै अवसर सिर्जना गर्न सरकारले साथ दिनुपर्ने बताउनुभयो ।

कान्तिपुर सिटी कलेजका प्रिन्सिपल केसीसी एक्जिबिटले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिने भएकाले यसलाई निरन्तरता दिएको बताउनुभयो । उहाँले आफ्नो कलेजका विद्यार्थीहरुले सिर्जना जस्ताको त्यस्तै प्रदर्शनीमा राखिएको बताउनुभयो ।

शुक्रबार र शनिबार चल्ने ‘केसीसी एक्जिबिट २०२४’मा कलेजकै विद्यार्थीहरुले तयार गरेका विज्ञान, प्रविधि तथा सूचना प्रविधिको विकासमा भएका उपलब्धि र अवसरहरु, नेपालको दीर्घकालीन विकास संरचनाका नमुनाहरु, बजार र बजार व्यवस्थापनका सीप, दक्षता र सम्भावनाका नमुनाहरु राखिने जनाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...