काठमाडौँ, ३१ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार निवारणसम्बन्धी बनेको ऐन समय अनुकुल बनाउनुपर्ने बताउनुभएको छ ।
बिहीबार भ्रष्टाचार निवारण ऐन २०५९को संशोधन गर्न बनेको विधयेककाबारे राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफललाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचार निवारण सम्बन्धमा २०५९ सालमा ऐन बनाउँदाको स्थिति र अहिले संशोधनको प्रस्ताव पेस गर्दाको स्थिति राजनीतिक र विज्ञान प्रविधिको विकासका हिसाबले धेरै फरक भएको भन्दै बद्लिदो अवस्थाअनुसार ऐनको संशोधन आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘२०५९ सालमा ऐन बनाउँदाको स्थिति र अहिले संशोधनको प्रस्ताव पेस गर्दाको स्थितिसम्म आइपुग्दा राजनीतिक परिस्थितिमा फेरबदल आएको छ । एउटा सासन प्रणालीदेखि अर्को शासन प्रणाली आइपुगेका छौँ । अहिले संघीय लोकतान्त्रिक गणतन्त्रअनुसार पनि संशोधन आवश्यक छ ।’
२०५९ देखि वा विधयेक संशोधनका लागि २०७६ सालमा पेस गर्दाको समयदेखि अहिले २०८१ सम्म सूचना प्रविधिमा भएको विकासअनुसार भ्रष्टाचार निर्मूलन गर्नका लागि उक्त ऐनमा संसोधन आवश्यक रहेको बताउनुभयो ।
विज्ञान प्रविधिमा भएको नयाँ विकासअनुसार पनि उक्त ऐनमा संशोधन आवश्यक रहेको पनि उहाँको भनाइ छ ।
त्यसैगरी, उहाँले भ्रष्टाचारका आरोपीलाई अदालतले फैसला नगरेसम्म निलम्बन गर्ने कि नगर्ने भन्नेबारे पनि व्यापक छलफलको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आयोगले मुद्दा दर्ता गराउनेबित्तिकै निलम्बन हुने स्थिति ठिक छ कि छैन ? अदालतले अन्तिम फैसला नगरेसम्म निलम्बन हुने व्यवस्था गर्ने कि नगर्ने ? के गर्दा उपयुक्त हुन्छ, सम्भव भएसम्म अन्य विज्ञसँग पनि राय सुझाव लिएर ऐनलाई परिमार्जित गर्नुपर्छ । विगतमा देखिएका समस्याहरूलाई व्यवस्थित गर्नेगरी गरियोस् । विधेयक परिमार्जनमा मेरो सहयोग रहन्छ ।’
हदम्याद कति समय राख्ने वा नराख्ने विषयमा छलफल गरेर निष्कर्षमा पुग्नु पर्ने पनि उहाँको भनाइ थियो ।