काठमाडौं । १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० अन्तर्गत दिल्ली क्यापिटल्सले विजयी भएको छ ।
शुक्रबार सम्पन्न खेलमा १ सय ८५ रनको लक्ष्य पच्छाएको राजस्थान रोयल्सलाई १ सय ३८ रनमा समेट्दै दिल्लीले ४६ रनको जित हासिल गरेको हो । राजस्थानका राहुल तेवाटियाले , यशस्वी जैस्वालले ३४, स्टेभन स्मिथले २४ तथा जोस बट्लरले १३ रन जोड्नु बाहेक अन्य ब्याट्म्यानले दोहोरो स्कोरमा रन बनाउन सकेन ।
दिल्लीका कागिसो रबडाले ३, मर्कूस स्टोइनिस र रविचन्द्रन आश्विन दुई-दुई तथा एनरिच नोर्ट्जे, हर्शल पटेल र अक्षर पटेलले समान १-१ विकेट लिए ।
यसअघि, शारजाह क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो ।
दोस्रो ओभरको तेस्रो बलमा दिल्लीका प्रारम्भिक ब्याट्सम्यान शिखर धावन ५ रनमा जोर्फ्रा आर्चरको बलमा आउट भए । तेस्रो विकेटका लागि पृथ्वी शाँले आयरसँग ३० रनको साझेदारी गर्दै टोलीको स्कोर ४२ रनसम्म पुर्याए । शाँ १९ रनमा आर्चरकै बलमा क्याच आउट भए ।
दिल्लीका लागि सबैभन्दा बढी रन शिम्रोन हिट्मेयरले जोडे । उनले २४ बलमा ५ छक्का र १ चौकाको सहयोगमा ४५ रन बनाए । यस्तै, मर्कूस स्टोइनिसले ३९, श्रेयार आयरले २२, अक्षर पटेलले १७ तथा हर्शल पटेलले १६ रनको योगदान दिए ।
राजस्थानका जोर्फ्रा आर्चरले ३ तथा राहुल तेवाटिया, कार्तिक त्यागी र एन्ड्रयु ताइले समान १-१ विकेट लिए ।
जितसँगै ६ खेलबाट १० अंक जोड्दै दिल्ली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यसैगरी, मुम्बइ दोस्रो, हैदराबाद तेस्रो स्थानमा रहेको छ । कोलकात्ता, बेङ्गलोर चेन्नइ क्रमश चौथो, पाँचौं र छैटौं स्थानमा रहेका छन् भने दिल्लीसँग पराजित राजस्थान सातौं र पञ्जाव पुछारमा रहेको छ ।