काठमाडौँ, १८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान संशोधनका लागि नयाँ समीकरण बन्नु प्रारम्भिक रुपमा स्वागत योग्य विषय भएको बताउनुभएको छ ।
आज नयाँ समिकरणको विषयलाई लिएर बसेको बैठकको बारेमा जानकारी दिँदै उहाँले राप्रपाले सधैँ यो संविधानले काम गर्दैन र यही संविधानबाट अगाडि जान सकिँदैन भन्ने कुरा उठाउँदै आएको भन्दै संविधान संशोधनको कुरा स्वागत योग्य भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले कांग्रेस र एमालेले जुन नयाँ सहमति बनाएको समाचार बाहिर आएको छ । त्यो सहमतिको मूल मुद्दा भनेको संविधान संशोधन रहेको छ । प्रमुख दल र दोस्रो मुख्य दल मिलेर संविधान संशोधन गर्न मिलेर सरकार बनाउने भन्ने कुरा आएको छ । त्यसलाई हामीले प्रारम्भिक रुपमा स्वागतयोग्य विषय मानेका छौँ । किनभने यो संविधानले काम गर्दैन र यही संविधानबाट अगाडि जान सकिँदैन भन्ने कुरामा मुख्य दलहरु सहमत भएको देखिएको छ ।’
उहाँले सरकारमा जाने नजाने भन्ने कुरामा यो समीकरणले कस्तो स्वरुप लिन्छ र कसरी अगाडि बढ्छ सबै हेरेर मात्र आफ्नो धारणा बनाउने निर्णय गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘यसले कस्तो स्वरुप लिन्छ र कसरी अगाडि बढ्छ हेर्न बाँकी छ । त्यसकारण यसलाई हेर्ने र आफ्नो धारणा बनाउने हामीले निर्णय गरेका छौँ । संविधान संशोधनको प्रक्रिया कसरी अगाडि जान्छ र अहिले बाहिर आएका कुरा सहमतिका विषय हो की होइन र त्यसमा कांग्रेस एमाले सहमत छ कि छैन भन्ने कुरा सबै हेरेपछि र अरु दलहरुसँग कुरा गरेपछि मात्र हामीले हाम्रो धारणा बनाउँछौँ ।’