नीति तथा कार्यक्रममा नयाँ योजनाहरु समावेश गरेका छौँ : मन्त्री साह

24

काठमाडौँ, १६ असार । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले सरकारले अहिलेको नीति तथा कार्यक्रममा केही नयाँ योजनाहरु समावेश गरी नयाँ मोडलमा जान खोजेको बताउनुभएको छ ।

आइतबार काठमाडौँमा पार्टीको कृषि तथा सहकारी विभागले आयोजना गरेको समृद्धिको आधारः सम्मानित किसान र कृषिमा रुपान्तरण नीति सम्वाद कार्यक्रममा उहाँले सरकारले सुन्तलालाई राष्ट्रिय फलको रुपमा घोषणा, कृषिमा लगानी दशक जस्ता नयाँ योजनाहरु समावेश गरेर नयाँ मोडलमा जाने प्रयत्न गरेको बताउनुभयो ।

‘हिजोको परिस्थितिभन्दा आज हामी फरक ढंगले अगाडि बढिरहेको अवस्था छ । कयौँ चिजहरुमा सुधार पनि भएको छ । सुधार नभएको होइन । कयौँ चिजहरुमा नयाँ मोडलमा पनि जान खोजेको छौँ । मलाई लाग्छ अहिलेको नीति तथा कार्यक्रममा केही नयाँ योजनाहरु पनि समावेश भएको छ । बजेट वक्तव्यमा केही नयाँ योजनाहरु पनि समावेश भएको छ,’ उहाँले भन्नुभयो,‘ राष्ट्रिय फल सुन्तला पुरानै थियो त ? अहिले राष्ट्रिय फलको रुपमा हामीले घोषणा गरेको छौँ । त्यतिमात्र होइन, खाद्य स्वस्थ गुणस्तर विधेयक जो केही परिमार्जन गरेर संशोधन गरेर ल्याएको अवस्था छ । त्यतिमात्र होइन, कृषिमा लगानी दशक २०८१ देखि २०९१ सम्मको यो पुरानै हो त ? त्यसैले नयाँ कुरालाई पनि नयाँ तरिकाले कुरा गर्दा जायज हुन्छ कि ।’

मन्त्री साहले कृषि क्षेत्रमा पहिलाभन्दा झन् बजेटको सिलिङ घटेर आएको भन्दै मन्त्रीले बजेट दिनुभएन भन्ने गलत भाष्य निर्माण भएको बताउनुभयो । झन्डै आधा बजेट मल मानै जाने भएकाले साढे ११ अर्ब हाराहारी बजेटले मात्रै देश चलाउनु परेको उहाँको गुनासो छ ।

उहाँले भन्नुभयो, ‘सिंचाइको लागि मैले थप माग गरेको थिए । त्यो अनुसार बजेट आएन । अझ सिलिङ घटेर आयो । पहिला ६० अर्ब थियो भने अहिले झन् घटेर ५७ अर्ब २९ करोडमा आयो । कृषि मन्त्रालयमा झन् बढ्नुपर्ने घटेर आयो । तर, म के भन्न चाहन्छु भने हाम्रो भित्रको सांसदहरुको पनि भनाइ मन्त्रीले बजेट दिनुभएन भन्ने छ । तर सबै बजेट मलमा जान्छ । जम्मा साढे ११ अर्ब हाराहारी बजेटले देश चलाइरहेको छु । २७ अर्ब ९५ करोड मलमा जान्छ बाँकी मन्त्रालयको प्रोजेक्टहरुमा प्रयोग हुन्छ ।’

Share This:
सम्बन्धित खबर
Loading...