काठमाडौँ, १६ असार । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बलियो संसद् लोकतन्त्रको आधारशीला भएको हुँदा संसद्लाई लोकतन्त्रको मन्दिरका रुपमा लिइँदै आएको बताउनुभएको छ ।
संसद् दिवसका अवसरमा आयतबार शुभकामना सन्देशमा जारी गर्दै सभामुख घिमिरेले कानुन निर्माण प्रक्रियामा सुधार तथा जनप्रतिनिधिको क्रियाशीलताले संसद् र संसदीय प्रक्रियामा देखिएका कमजोरीलाई सुधार गर्न सकिने उल्लेख गर्नुभयो ।
संसद्प्रति जनताको आस्था र विश्वासलाई उचाइमा पुर्याउन सबैको योगदान उत्तिकै महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ ।
‘बलियो संसद लोकतन्त्रको आधारशीला हो । त्यसैले संसदलाई लोकतन्त्रको मन्दिरको रुपमा लिइन्छ । लोकतान्त्रिक संसद्को आधारभूत चरित्र भनेको पारदर्शी, जनउत्तरदायी र समावेशी आवाजलाई प्रतिनिधित्व गर्ने हो । संविधानले निर्दिष्ट गरेका सिद्धान्त र मान्यताको आधारमा नेपालको संसदीय व्यवस्थालाई बलियो बनाउने दायित्व हामी सबैको हो । कानुन निर्माण प्रक्रियामा सुधार तथा जनप्रतिनिधिको क्रियाशीलताले संसद र संसदीय प्रक्रियामा देखिएका कमजोरीलाई सुधार गर्न सकिन्छ,’ सभामुखद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
वि.सं। २०१६ साल असार १६ गते नेपालमा संसद्को पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाउने गरिएको छ ।
संसद् स्थापनाको स्मरण गर्दै संघीय संसद र परामर्शदातृ संस्था पूर्वसांसद मञ्चले विविध कार्यक्रम गर्दै संसद दिवस मनाउँदै आएका छन् ।