गुटका कारण कम्युनिस्ट आन्दोलनलाई ठुलो धक्का लाग्यो : माधव नेपाल

27

काठमाडौँ, १५ असार । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्ने संकल्पका साथ अगाडि बढेको बताउनुभएको छ ।

शनिबार नेकपा एसले १०औँ राष्ट्रिय महाधिवेशनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले विगतमा गुटका कारण कम्युनिस्ट आन्दोलनले ठुलो धक्का खाएको भन्दै अब एकताका साथ अगाडि बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गुटबन्दी नहोस, नेताहरु मिलेर अगाडि बढ्नुहोस्, गुटले धेरै ठुलो क्षति पुर्‍याएको छ । विगतमा पनि गुटले गर्दा कम्युनिस्ट आन्दोलनले ठुलो धक्का खाएको थियो । त्यसैले आउँदो महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्ने संकल्पका साथ अगाडि बढेका छौँ । यसको साथै कम खर्चमा सहज तरिकाले सम्पन्न हुने हिसाबले अगाडि बढेका छौँ ।’

यसको साथै, उहाँले नेपालको राजनीति र कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद अत्यन्तै खतरनाक रुपमा देखा परेको भन्दै यस्तो प्रवृत्तिबाट पार्टीलाई जोगाउन र समाजवादको दिशामा अघि बढाउन आवश्यकता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जोसँग आँट र संकल्प छैन त्यसले केही गर्न सक्दैन । यस अर्थमा हामीले नेपालको राजनीतिमा हाम्रो विशिष्ट स्थानलाई स्थापित गर्नुपर्ने आवश्यकता छ । अगाडि बढ्ने क्रममा कमि कमजोरीहरु हुन्छन् । त्यसलाई सुधार गर्नुपर्ने आवश्यकता पर्छ । यो नेपालको राजनीतिमा र कम्युनिस्ट आन्दोलनमा यो दक्षिणपन्ती अवसरवाद अत्यन्तै खतरनाक रुपमा देखा परेको छ । प्रवृत्तिबाट हाम्रो पार्टीलाई जोगाउनुपर्ने र समाजवादको दिशामा अघि बढाउनुपर्ने आवश्यकता छ ।’

नेकपा एस घटनाक्रमलाई निर्णायक मोड दिने, सक्रिय हस्तक्षेप गर्ने, नेपाली राजनीति दिशाबोध गर्ने क्षमता भएको पार्टी भन्दै यसले प्रत्येक चुनौतिको सफलताका साथ सामना गर्दै आएको पनि उहाँको भनाइ छ ।

‘नेपाली समाजमा ठुल्ठुला उथलपुथलहरु भएका छन् । प्रत्येक घटनामा अत्यन्तै महत्वपूर्ण अग्रगामी भूमिका खेलेका छौँ । अगुवाइ गरेका छौँ । सहभागी मात्र होइन, नेतृत्व गरेका छौँ । नेकपा (एकीकृत समाजवादी) अन्यजस्तो साधारण पार्टीको रुपमा होइन, त्यतिकै घटना क्रममा सहभागी हुने पार्टी होइन । घटनाक्रमलाई निर्णायक मोड दिने, सक्रिय हस्तक्षेप गर्ने, नेपाली राजनीति दिशाबोध गर्ने त्यो क्षमताको साथे पार्टी अगाडि बढ्दै आएको छ । प्रत्येक चुनौतिको सफलताका साथ सामना गरेका छौँ,’उहाँले भन्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...