काठमाडौँ, १४ असार । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला कुमारी साहले बिचौलीयाहरुको स्वार्थको कारण दुग्ध किसानहरुको बक्यौता भुक्तानी गर्न नसकिएको बताउनुभएको छ ।
शुक्रबार नेपाल लाइभस्टक सेक्टर इनोभेसन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले आफूले ३० करोड भुक्तानी गरेको भएपनि २५ प्रतिशत सञ्चालकहरुको भत्ता र तलब दिने निर्णय गरेका कारण दुग्ध किसानको भुक्तानी दिन नसकिएको भन्दै यस कार्यमा संलग्नहरुलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सरकार ऋणमा डुब्न तयार हुनुपर्छ । तर, किसानहरु जो दुधको भुक्तानीले आफ्नो जीवनयापन गरिरहेका छन् । त्यस्तो किसानहरुलाई छिटो रुपमा भुक्तानी हुनुपर्छ भनेर म मन्त्री भएर आइसकेपछि ३० करोड भुक्तानी गरेको हो । तर, बिचौलीयाहरु आफ्नो स्वार्थ पूरा गर्नका लागि जुन शीर्षकमा भुक्तानी गयो, त्यो शीर्षकबाट बाहिर सञ्चालक समिति बसेर बाडेर २५ प्रतिशत सञ्चालकहरुको भत्ता र तलब दिने निर्णय गरेको छ । अब त अप्रेसन नगरिकन सुख छैन । अप्रेसन त गर्नै पर्छ ।’
यस कार्यमा संलग्नहरुलाई समयमै कारबाही गर्न नसके बिचौलीयाहरुको मनोबल बढ्दै साहको भनाइ छ । मन्त्री भएर पनि उद्देश्यहरु पूरा गर्न सकेन भने मन्त्रीको अर्थ नरहने भन्दै कृषिलाई बजारीकरण गर्नेतर्फ अगाडि बढ्ने उहाँको दाबी छ ।
उहाँले भन्नुभयो, ‘जबसम्म कृषि, बजारीकरण र सिंचाइमा सुधार आउँदैन । मन्त्री भएरपनि उद्देश्यहरु पूरा हुन सकेन, आफूले गरेका कामहरु सफल हुन सकेन भने त्यो मन्त्रीको अर्थ पनि रहँदैन । जुन बेला सबै कुरामा आत्मनिर्भर हुन सक्छौँ, आयातलाई प्रतिस्थापन गरेर निर्यात बढाउन सक्छौँ, त्यती बेला मात्र हामी सफल हुन्छौँ । यो मन्त्रालयलाई एउटा केन्द्रबिन्दु बनाएर, विशेष प्राथमिकतामा राखेर यो कृषि मन्त्रालय भएन भने देश अगाडि बढ्न सक्दैन ।’
त्यस्तै, मन्त्री साहले सरकारले कृषि दशक घोषणा गरिसकेकाले सबै तहका सरकारहरुले कृषिलाई प्राथमिकतामा राखेर यस्ता आयोजनाहरुबाट प्राप्त नतिजा र उपलब्धिहरुलाई संस्थागत गर्ने आवश्यक पहल गर्न जरुरी रहेको बताउनुभयो ।