काठमाडौँ, १४ असार । तत्कालीन नेकपा (एमाले)का महासचिव मदनकुमार भण्डारीको आज ७३औँ जन्मजयन्ती आज(शुक्रबार) देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।
स्वर्गीय मदनकुमार भण्डारीको सम्झनामा स्थापना गरिएको मदन भण्डारी मेमोरियल कलेजले समेत शुक्रबार २३औँ स्थापना दिवस मनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेता भण्डारीका विचारहरुलाई शिक्षाको माध्यमबाट समाज परिवर्तन गर्ने, समुन्नत राष्ट्र निर्माण गर्दै जनभावना परिवर्तन गर्ने महत्वपूर्ण क्षेत्रका रुपमा मदन भण्डारी मेमोरियल कलेजलाई लिइँदै आएको बताउनुभयो ।
उहाँले नेता भण्डारीले राष्ट्रिय राजनीतिमा खेलेको भूमिका अहिले पनि मार्गदर्शनको रुपमा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘राजनीतिमा खेल्नुभएको भूमिकाले आजपनि मार्गदर्शन गरिरहेको छ । त्यही मार्गदर्शनभित्र शिक्षा खाली शिक्षाका लागि मात्र होइन, शिक्षा समाजका लागि हो । शिक्षा उपयोगी हुनुपर्छ । शिक्षाले समाजलाई परिवर्तन गर्न सक्नुपर्छ । यही विचार बोकेर आउनुभएका नेता भण्डारीका विचारलाई शिक्षाको माध्यमबाट लागु गर्ने उद्देश्यले स्थापना भएको यस कलेजले विद्यार्थीहरुले गरिरहेका प्रगतिहरु उल्लेखनीय छन् ।’
समाज परिवर्तका लागि आफ्नो आफ्नो क्षेत्रमा सबैले भूमिका खेल्नुपर्ने सभामुख घिमिरेको भनाइ छ ।
वि.सं २०४९ माघ १४–२० मा सम्पन्न एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा जननेता भण्डारीबाट प्रस्तुत र पारित ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रुपमा रहेको छ ।
वि.सं २००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मिएका भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा दुर्घटनामा परी निधन भएको थियो ।