काठमाडौँ, १२ असार । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मापदण्ड पूरा नगरी खोलिएका रिहाब सेन्टरहरुमा मन्त्रालयले ताला लगाउने बताउनुभएको छ ।
बुधबार काठमाडौँमा आसरा सुधार केन्द्रले लागुऔषध दुरुपयोग तथा अवैध ओसार पसारविरुद्धको अन्तराष्ट्रिय दिवसको २०२४ को अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले उपचार गर्ने नाममा महँगा होटेल चलाएको जस्तो गरेर मापदण्ड पूरा नगरी खोलिएका रिहाब सेन्टरहरुमा ताला लगाउने बताउनुएको हो ।
उहाँले भन्नुभयो, ‘व्यापार गर्न पाउने तपाईंको अधिकारको म सम्मान गर्दछु । तर, ड्रग्समा डुबेकालाई उपचार गर्ने नाममा महँगा महँगा होटेल चलाएको जस्तो गरेर बिलमाथि बिल पठाएर मापदण्ड पूरा नगरेर भाषणहरुमा मात्र ठुला कुरा गर्नुभयो भने मन्त्रालयमा तपाईंका सेन्टरहरुमा लगाउने तालाहरु छन् । लगाउनका लागि हामी तयार हुन्छौँ । यो कुरा म एमदमै प्रष्ट गर्न चाहन्छु ।’
उहाँले सुरक्षा निकायमा गैरकानुनी रुपले आफूले कुनै अर्डर नदिने भन्दै कर्तव्य निष्ठा भएर युवायुवतीलाई बिर्गान ड्रग्स सप्लाई गर्नेहरूलाई कुनै चान्स नदिइ काम गर्नका लागि आग्रह गर्नुभयो । मन्त्री लामिछानेले लागुऔषध दुरुपयोग निर्मूलका लागि योजना लिएर आएमा मन्त्रालयबाट सबै सहयोगको लागि पहल गर्ने विश्वास दिलाउनुभयो ।
‘मैले गृह मन्त्रालय सम्हालेपछि कुनै भागबन्डा चाहिँदैन र कुनै घुसको रकम चाहिँदैन । मलाई कुनै ठेक्का पट्टामा टेन्डर मिलाउनुपर्दैन । मलाई कुनै आफन्तहरूको भर्ति गर्नुपर्छ भन्ने छैन । तपाईँहरूको सरुवा बढुवा केहीमा पनि मलाई कुनै चासो छैन । बस् आफ्नो कर्तव्य पालना गर्नुहोस् । आफ्नो बर्दी जोगाउनुहोस् । यो देश र युवा जोगाउनुहोस् । मलाई केही चाहिँदैन । कुनै गैरकानुनी अडर म दिने छैन,’ उनले भने, ‘मात्र कर्तव्य निष्ठ भएर काम गर्नुहोस् । जसले युवा युवतीलाई बिर्गान ड्रग्स सप्लाइ गरिरहेका छन् भने तिनिहरुलाई कुनै चान्स नदिनुहोस् । सबका सबलाई जेल कोच्नुहोस् । एक जनालाई पनि बाँकी नराखे निर्मूल पार्नुहोस् । यसका लागि योजना लिएर आउनुहोस् । बजेट छैन भने म दिलाउँछु बजेट । कहाँ कहाँ गुहार्नुपर्छ म गुहार्छु ।’
उहाँले लागुऔषध दुरुपयोग निर्मूलको लडाइँ बन्दुक नलिइ लडिने लडाइँ नभएको भन्दै यसका लागि मन्त्रालयले राष्ट्रिय नीति बनाएर कडाईकासाथ लागु गर्ने बताउनुभयो ।