अपराधका घटनाहरुमा शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिएको छु : गृहमन्त्री लामिछाने

13

काठमाडौँ, १० असार । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा र अपराधका घटनाहरुमा शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न मातहतका निकायहरुलाई निर्देशन दिएको बताउनुभएको छ ।

सोमबार राष्ट्रिय सभाको बैठकमा अछाममा भएको घटनाबारे सांसदले उठाएका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लामिछानेले अपराधका घटनाहरुमा शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न स्थानिय प्रशासनलाई मन्त्रालयले स्पष्ट निर्देशन दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘महिला तथा बालबालिकाका विरुद्ध हुने कुनैपनि हिंसा र अपराधका घटनाहरुमा शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न स्थानिय प्रशासनलाई मन्त्रालयले स्पष्ट निर्देशन गरेको र पीडितको न्याय प्राप्त गर्ने संवैधानिक हकको संरक्षण एवं कार्यानवयनका लागि गृह मन्त्रालय र मातहत प्रशासन थप संवेदनशिल र सचेत रहेको कुरा जानकारी गराउन चहान्छु ।’

लामिछानेले अछाममा भएको छाउपडी घटनाबारे स्थानीय प्रशासनले अनुसन्धान गरिरहेको बताउँदै छिट्टै अदालती प्रक्रियामा जाने बताउनुभयो ।

छाउपडि प्रथाको अभ्यास भएका क्षेत्रको समिक्षा गर्न र अनुसन्धानको कार्य कडाइका साथ गर्न र अपराधीलाई कडा कारबाही गर्न पनि निर्देशन दिइएको लामिछानेको भनाइ छ ।

उहाँले यो प्रथाको अन्त्य गर्नको लागि एउटा समिति निमार्ण गर्ने र समितिले दिएको प्रतिवेदनमा टेकेर नीतिगत निर्णयहरु गर्ने र अभियानहरु सञ्चालन गर्ने कुराको पनि निर्णय भएको पनि जानकारी दिनुभयो ।

असार ४ गते अछाम जिल्ला पञ्चदेवल विनायक नगरपालिका–२ बस्ने १६ वर्षीया किशोरीमाथि छाउगोठनजिकै बेहोस अवस्था फेला परेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयसमेतको टोलीले उद्धार गरी उनलाई उपचारको लागि जिल्ला अस्पताल लगेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...