प्रधानमन्त्रीप्रति लेखकको व्यङ्ग्य : हामीलाई राम्रो जादुगर होइन, राम्रो प्रधानमन्त्री चाहिएको छ
काठमाडौँ, १० असार । नेपाली कांग्रेसका प्रमुख सेचतक रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘राम्रो प्रधानमन्त्री नभई राम्रो जादुगर’ भएको भन्दै व्यङ्ग्य गर्नुभएको छ ।
सोमबार स्वर्गीय नन्दप्रसाद शिवाकोटी स्मृति ग्रन्थ विमोचन समारोहलाई सम्बोधन गर्दै प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीले एउटा कार्यक्रममा आफूसँग जादुयी संख्या रहेको भनेर गरेको टिप्पणीमाथि व्यङ्ग्य गर्दै प्रधानमन्त्री जादुगर भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीलेजीले यो मेरो संख्या होइन, जादु हो भनेर भनिराख्नुभएको छ । अब हामीलाई राम्रो प्रधानमन्त्री चाहिएको छ । अब उहाँ राम्रो जादुगर भएर आउनुभएको छ । बडो बिडम्बनामा हामीले बाच्नु परिरहेको छ ।’
लेखकले राजनीतिक स्थिरता, समृद्धि, दिगो शान्ति, विकास र सुशासन आजको आवश्यकता भएको भन्दै वर्तमान राजनीतिक गतिविधि र अस्थिरतका कारण सबै ओझेलमा परेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले कतिपय चुनौतीहरु भोग्नुपरेको छ । अहिले मुलुकमा स्थिरता, समृद्धिको कमी छ । मुलुकको उन्नति, दिगो शान्ति, विकास, सुशासन आजको आवश्यकता छ । तर, राजनीति गतिविधि र अस्थिरताले यी सबै कुराहरुलाई ओझेलमा राखेको छ । अझै कति दिन अस्थिरता व्यहोर्नु पर्ने हो भन्ने पनि थहा छैन ।’