मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो

59

काठमाडौँ, १० असार । मेलम्ची नदीमा गएराति गएको बाढीले अस्थायी पुल बगाएको छ । मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा रहेको स्थायी पुल २०७८ सालको बाढीले बगाएपछि ह्युमपाइप राखेर बनाइएको अस्थायी पुल पनि आइतबार राति बगाएको मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङले बताउनुभयो ।

मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ का साथै हेलम्बुको केही वडालाई उक्त अस्थायी पुलले जोडेको थियो । पुल बगाएसँगै आवातजावतमा समस्या भएको मेयर तामाङले बताउनुभयो ।

उक्त स्थानमा पक्की मोटरेवल पुल निर्माणका लागि नगरपालिकाले डिपिआर तयार पारेर इआइए प्रतिवेदन समेत बनाइसकेको भए पनि पुल निर्माणका लागि स्वीकृति नपाउँदा पुल निर्माण कार्य अघि नबढेको तामाङले जानकारी दिनुभयो ।

‘प्रदेशको पूर्वाधार निर्देशनालयमा डिपीआर प्रतिवेदन पठाएका छौँ । त्यहाँबाट पत्र प्राप्त हुनासाथ पुल निर्माणका लागि टेण्डर आह्वान गर्ने भनेर कुरेर बस्दा बस्दा अहिलेसम्म परिपत्र आएको छैन । हामीले यो वर्ष पनि नगरसभाबाट ८ करोड बजेट विनियोजन गरेका छौँ । स्वीकृति मिल्नासाथ टेण्डर प्रकृया अगाडि बढाउँछौँ,’ तामाङले भन्नुभयो ।

पुल बगाउँदा स्थानीयलाई एक गाउँबाट अर्को गाउँ जान, वारिपारी गर्न अहसज भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...