बर्खायाममा खानपानमा विशेष ध्यान नदिए गम्भीर रोगहरुको जोखिम रहन्छ : डा.सङ्कल्प केसी

3

काठमाडौँ, २० जेठ । मनसुन सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा पानीजन्य तथा सङ्क्रमणजन्य रोगहरूको जोखिम बढ्ने गर्छ । नेपालमा बर्खायाम सुरू भएसँगै विभिन्न सङ्क्रामक रोगहरूको जोखिम बढ्ने भएकाले नागरिकहरूले खानपान, सरसफाइ र व्यक्तिगत स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने जनरल फिजिसियन डा.सङ्कल्प केसीले बताउनुभएको छ ।

अरिन हस्पिटलमा कार्यरत डा.केसीले नेपाल न्युज बैङ्कसँगको विशेष कुराकानीमा बर्खायाममा देखिने स्वास्थ्य समस्या, नेपालको स्वास्थ्य क्षेत्रको अवस्था, चिकित्सक पलायन तथा नयाँ सरकारसँगको अपेक्षाबारे विस्तृत धारणा व्यक्त गर्नुभयो ।

उहाँले पछिल्लो समय स्वास्थ्य क्षेत्र उल्लेखनीय आधुनिकीकरण भएको बताउँदै नेपाल स्वास्थ्य प्रविधिको क्षेत्रमा दक्षिण एसियामै प्रतिस्पर्धी अवस्थामा रहेको बताउनुभयो । आधुनिक प्रविधिले रोग पहिचान, उपचार तथा स्वास्थ्य सेवा प्रवाहलाई छिटो, सहज र प्रभावकारी बनाएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रमा अहिले अत्याधुनिक प्रविधिहरू भित्रिएका छन् । यसले समय बचत गर्नुका साथै रोगको सही पहिचान र उपचारमा ठुलो सहयोग पुर्‍याएको छ । विश्वभर स्वास्थ्य विज्ञानमा दैनिक नयाँ अनुसन्धान र प्रविधिको विकास भइरहेको छ, जसको सकारात्मक प्रभाव नेपालमा पनि देखिन थालेको छ ।”

बर्खायामसँगै सङ्क्रामक रोगको जोखिम
डा.केसीका अनुसार नेपालजस्तो विकासोन्मुख देशमा बर्खायाम सुरू भएसँगै विभिन्न सङ्क्रामक रोगहरूको प्रकोप बढ्ने गर्छ । विशेषगरी डेंगी, मलेरिया, टाइफाइड, स्क्रब टाइफस, झाडापखाला, हैजा, भाइरल हेपाटाइटिस तथा अन्य ज्वरोजन्य रोगहरू यस समयमा बढी देखिने गरेका छन् ।

उहाँले दूषित पानी र अस्वस्थ्यकर खानपानका कारण ग्यास्ट्रोइन्टेराइटिस, फुड पोइजनिङ, बान्ता, पखाला र ज्वरोजस्ता समस्या व्यापक रूपमा देखिने बताउनुभयो । कतिपय ग्रामीण क्षेत्रमा हैजाजस्ता रोगले महामारीकै रूप लिनसक्ने भएकाले समयमै सतर्कता अपनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

“बर्खायाममा पानीजन्य र खानाजन्य रोगहरू तीव्र रूपमा फैलिने सम्भावना हुन्छ । त्यसैले सुरक्षित खानेकुरा, उमालेको वा शुद्धीकरण गरिएको पानी तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्छ,” उहाँले भन्नुभयो ।

बालबालिका र वृद्धवृद्धा बढी जोखिममा
उहाँका अनुसार रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरू सङ्क्रमणको उच्च जोखिममा पर्छन् । विशेषगरी बालबालिका र वृद्धवृद्धामा संक्रमणको असर बढी देखिने गरेको छ ।

बालबालिकाको प्रतिरक्षा प्रणाली पूर्ण रूपमा विकसित भइनसकेको र वृद्धवृद्धामा रोगसँग लड्ने क्षमता कम हुने भएकाले उनीहरूलाई विशेष संरक्षण आवश्यक रहेको उहाँले बताउनुभयो । परिवारका सदस्यहरूले यी उमेर समूहप्रति थप सतर्कता अपनाउनुपर्ने उहाँको सुझाव छ ।

किन फैलिन्छन् सीमित क्षेत्रमा भाइरल रोग ?
कुनै गाउँ वा निश्चित क्षेत्रमा भाइरल रोगहरू एक्कासी फैलिने मुख्य कारण दूषित पानी, सरसफाइको अभाव र जनचेतनाको कमी रहेको डा.केसी बताउनुहुन्छ ।

उहाँका अनुसार खुला दिसापिसाब, सुरक्षित शौचालयको अभाव, सङ्क्रमित व्यक्तिको सम्पर्क तथा स्वास्थ्यसम्बन्धी आधारभूत सावधानी नअपनाउँदा रोगहरू एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने गर्छन् ।

उहाँले भन्नुभयो, “सङ्क्रमित व्यक्तिलाई अलग्गै नराख्ने, व्यक्तिगत सरसफाइमा ध्यान नदिने, हात नधुने तथा सुरक्षित पानी प्रयोग नगर्ने बानीका कारण ग्रामीण क्षेत्रमा कहिलेकाहीँ रोगले महामारीको रूप लिन सक्छ ।”

कसरी जोगिने ?
बर्खायाममा रोगबाट जोगिनका लागि घर तथा समुदाय स्तरमा केही आधारभूत सावधानीहरू अपनाउन उहाँले आग्रह गर्नुभयो ।

उहाँका अनुसार डेंगीबाट बच्न घर वरिपरि पानी जम्न दिनु हुँदैन । फूलदानी, टायर, ड्रम, गमला लगायतका स्थानमा लामखुट्टेले फुलपार्ने भएकाले नियमित सरसफाइ गर्नुपर्छ । सुत्दा झुल प्रयोग गर्ने तथा लामखुट्टेको टोकाइबाट जोगिने उपाय अपनाउनुपर्ने उहाँले बताउनुभयो ।

त्यसैगरी खानपानमा विशेष ध्यान दिँदै उमालेको पानी पिउने, ताजा तथा सफा खाना खाने, लामो समय खुला राखिएको खाना नखाने तथा फ्रिजमा राखिएको खाना पुनः तताएर मात्र प्रयोग गर्नुपर्ने उहाँको सुझाव छ ।

“सरसफाइ, नियमित व्यायाम, पर्याप्त पानी सेवन तथा स्वस्थ जीवनशैलीले धेरै रोगहरूबाट बच्न मदत गर्छ,” उहाँले भन्नुभयो ।

ग्रामीण र सहरी स्वास्थ्य अवस्थाबिच अन्तर
नेपालको जनस्वास्थ्य अवस्थाबारे बोल्दै डा.केसीले ग्रामीण र सहरी क्षेत्रबीच स्वास्थ्य समस्याको प्रकृति फरक रहेको बताउनुभयो ।

उहाँका अनुसार ग्रामीण क्षेत्रमा हैजा, झाडापखाला, क्षयरोग, निमोनिया, भाइरल ज्वरो तथा डेंगीजस्ता सरुवा रोगहरू बढी देखिन्छन् । सरसफाइ, सुरक्षित खानेपानी र स्वास्थ्य चेतनाको अभाव यसको मुख्य कारण हो ।

यता सहरी क्षेत्रमा भने उच्च रक्तचाप, मधुमेह, थाइराइड, कोलेस्ट्रोल तथा मुटुसम्बन्धी रोगहरू तीव्र रूपमा बढिरहेका छन् । बदलिँदो जीवनशैली, शारीरिक गतिविधिको कमी तथा अस्वस्थकर खानपानका कारण नसर्ने रोगहरूको जोखिम बढिरहेको उहाँले बताउनुभयो ।

स्वास्थ्य क्षेत्रमा सुधार भएपनि चुनौती कायमै
विगतको तुलनामा ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच उल्लेखनीय रूपमा विस्तार भएको उहाँको भनाइ छ ।

सरकारले गाउँगाउँमा स्वास्थ्य चौकी तथा अस्पताल स्थापना गर्नुका साथै चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गर्न थालेको छ । यद्यपि, जनचेतनाको कमी, अन्धविश्वास तथा परम्परागत उपचार पद्धतिमा अत्यधिक निर्भरताका कारण अझै धेरै नागरिक समयमै अस्पताल पुग्न नसकिरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कुनै स्वास्थ्य समस्या देखिएमा स्वास्थ्य संस्थामा पुगेर चिकित्सकको परामर्श लिनुपर्छ । अन्धविश्वास र घरेलु उपचारमा मात्र निर्भर हुँदा समस्या जटिल बन्नसक्छ ।”

चिकित्सक पलायनको बढ्दो चुनौती
नेपालबाट चिकित्सकहरू विदेश जानेक्रम बढ्दै गएको बताउँदै डा.केसीले यो समस्या स्वास्थ्य क्षेत्रमा मात्र सीमित नरहेको बताउनुभयो । आर्थिक अवसर, पेशागत सुरक्षा, जीवनस्तर तथा भविष्यको सुनिश्चितताका कारण विभिन्न क्षेत्रका दक्ष जनशक्ति विदेशतर्फ आकर्षित भइरहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “चिकित्सकहरूले ठुलो लगानी र कठिन परिश्रमपछि अध्ययन पूरा गरेका हुन्छन् । तर, अपेक्षाअनुसारको आम्दानी, सुरक्षा र सम्मानजनक कार्य वातावरण नहुँदा धेरै चिकित्सक विदेश जान बाध्य भएका छन् ।”

उहाँले स्वास्थ्यकर्मीमाथि हुने दुर्व्यवहार नियन्त्रण, पेशागत सुरक्षा र उचित पारिश्रमिक सुनिश्चित गर्न राज्यले विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नयाँ सरकारसँग सुधारको अपेक्षा
डा.केसीले नयाँ सरकारप्रति आशावादी रहेको बताउँदै स्वास्थ्य क्षेत्रमा सुधारका लागि सकारात्मक पहल हुने अपेक्षा व्यक्त गर्नुभयो । युवा नेतृत्वको सहभागिता बढेकाले स्वास्थ्य नीति निर्माण, सेवा विस्तार तथा व्यवस्थापनमा सुधार आउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

“हिलेको नेतृत्वले अन्तर्राष्ट्रिय अभ्यास र नेपालको आवश्यकता दुवै बुझेको देखिन्छ । स्वास्थ्य क्षेत्रमा विगतभन्दा केही सकारात्मक सुधार हुने अपेक्षा गरेका छौँ,” उहाँले भन्नुभयो ।

उहाँले स्वास्थ्य सेवा सबै नागरिकको आधारभूत अधिकार भएकाले सरकारले ग्रामीण तथा दुर्गम क्षेत्रसम्म गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

बर्खायाममा फैलिने रोगहरूको जोखिम, ग्रामीण–सहरी स्वास्थ्य असमानता, चिकित्सक पलायन तथा स्वास्थ्य सेवाको गुणस्तर सुधारका चुनौतीहरूबिच जनचेतना, सरसफाइ र प्रभावकारी सरकारी नीतिको आवश्यकता अझै बढेको डा.संकल्प केसीको निष्कर्ष छ । –नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...