गृहमन्त्रीलाई शर्माको प्रश्न–जिबी राईको लोकेसन पत्ता लागिसकेपछि पनि पक्रिन चार दिन किन लाग्यो ?
काठमाडौँ, ९ असार । प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा फरार जिबी राईलाई छिटो पक्राउ गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले असार ४ गते गृहमन्त्री रवि लामिछानेले चितवन पुगेर राईको लोकेसन पत्ता लागिसकेको भनि दिएको अभिव्यक्तिको स्मरण गराउँदै चार दिन बितिसक्दा समेत राई किन प्रक्राउ परेनन् भनी प्रश्न गर्नुभयो ।
‘देशलाई जिबीको लोकेशन चाहिएको होइन, जिबी चाहिएको हो,’उहाँले भन्नुभयो, ‘गृहमन्त्रीजीले लोकेसन पत्ता लाग्यो भनेको चार दिन भयो । प्रतिपक्षमा हुँदा उहाँले यहीँ सदनमा उभिएर सरकारले पक्रिनै चाहेन, चाहेको भए पक्रिन यतिका समय किन लाग्छ भनेर भन्नुभएको थियो । अब लोकेसन पत्ता लागिसकेपछि पनि चार दिन किन लाग्छ ?’
त्यसअघि उहाँले राईलाई पक्राउ नगरेर व्यवसायीक साथीलाई भगाउने नियत गृहमन्त्रीले राखेको होकी भन्ने आशंका व्यक्त गर्नुभयो ।
‘संसारलाई थाहा छ गोरखा मिडियाका दुई जना सञ्चालकमध्ये एक जना फरार छन्, एक जना गृहमन्त्री हुनुहुन्छ । सहकारी ठगीमा फरार भएको व्यवसायीक साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीजीले गिरफ्तार गर्नु छ । त्यसैले लोकेसन पत्ता लागिसक्यो भनेर माइकबाटै फुक्नुको अर्थ के हुन्छ ? अभियुक्त पक्रिके के नयाँ शैली हो ? केटाकेटी पन हो या भगाउने नियत हो ?’ शर्माले भन्नुभयो ।
मलेसियासँग सुर्पुदगी सन्धी नभएका कारण जिबी राईलाई पक्रिन कठिन भए पनि असम्भव भने नभएको धारणा शर्माको छ ।