चितवन, ३२ जेठ । चितवनमा कारसँग ठोक्किएर बस त्रिशुलीमा खस्दा १२ जना घाइते भएका छन् ।
नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको भे१ख ४०६२ नम्बरको बस र काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको प्र–१–०२९ च ३७२० नम्बरको कार चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परी १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिनुभयो ।
‘प्रारम्भिक विवरणअनुसार कारमा सवार ५ जना र बसमा चालकसहित ३५ जना यात्रु सवार रहेछन् । सो मध्ये ११–१२ जना घाइतेको उद्धार गरी चितवनको भरतपुर अस्पतालमा पठाइएको छ,’ डिएसपी भण्डारीले भन्नुभयो । उनीहरुमध्ये कारमा सवार तीन जनाको अवस्था गम्भीर छ ।
बस सडकबाट खोलामा झरेको छ । भण्डारीका अनुसार बसमा सवार अन्य यात्रु सामान्य घाइते छन्, सबैको विवरण खुलेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।