सत्ताको बलमा बदलाको भावनाले प्रेसमाथिको आक्रमण निन्दनीय : डिला संग्रौला

125

काठमाडौँ, ९ जेठ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले सत्ता र शक्तिको दुरुपयोग गरेर मिडियामाथिको आक्रमण रोक्न, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कार्य नगर्न आग्रह गर्नुभएको छ ।

मंगलबार नेपाल प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थापाथलीस्थित कार्यकक्षबाटै पक्राउ गरिएको घटनालाई लिएर डा.संग्रौलाले सिरोहियाको नागरिकताको विषयमा कानुन सम्मत अनुसन्धान गर्ने कुरा स्वभाविक भएपनि अनुसन्धानको बहानामा सञ्चार माध्यमलाई त्रसित बनाउने गरी विधि र प्रक्रिया मिचेर प्रहरीले सञ्चारगृहमा प्रवेश गरी सत्ताको बलमा बदलाको भावनाले पक्राउ गरिनु आपत्तिजनक भएको बताउनुभयो ।

बुधबार बिहान सामाजिक सञ्जालमा आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै उहाँले भन्नुभएको छ,‘हाम्रो पार्टीले लोकतन्त्र र प्रेस स्वतन्त्रताको विषयमा कहिल्यै कसैसँग पनि सम्झौता गरेको छैन र गर्ने पनि छैन। बन्दूक र कलमबीचको लडाईंमा जहिले पनि व्यक्तिको चेतना, विचार र कलमको नै जीत हुने गरेको छ। हेक्का रहोस्।’

उहाँले अगाडि भन्नुभएको छ,‘प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धताबाट विचलित नहुन, सम्पादकीय नीतिबाट विचलित नहुन, र नागरिकले सुसूचित हुन पाउने अधिकारलाई जीवन्त राख्न अविचलित भएर सञ्चार सामग्री उत्पादन गरी प्रकाशन तथा प्रशारणमा अडिग रहन सबै संचारमाध्यमहरुलाई आग्रह गर्दै राज्यसत्ताबाट भइरहेको तानाशाही प्रवृत्ति रोक्न सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरु एकजुट हुन म आह्वान पनि गर्दछु ।’

त्यस्तै, उहाँले सभामुख र सत्तारुढ दलहरूको मिलेमतोमा सम्मानीत संसद्लाई ब्यारेकमा रुपान्तरण गर्ने रवैया प्रस्तुत भइरहेको आरोप लगाउनुभयो । उहाँले त्यसलाई तत्काल रोकेर संसदलाई मर्यादित बनाउन, सहकारी प्रकरणमा संसदीय छानबिन समिति तत्काल बनाउन, सभामुखले आफ्नो गरिमा, मर्यादा, संसदीय परम्परा र संसदीय अभ्यास कायम राखी संविधान र संघीय शासन प्रणालीमाथि धावा नबोल्न चेतावनी दिनुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...