सरकार परिवर्तनको प्रयास माकुराको जालो जसरी च्यातियो : उपाध्यक्ष पौडेल

32

काठमाडौँ, ७ जेठ । सत्तारुढ दल एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिँदै कांग्रेसप्रति खरो टिप्पणी गरेको छ ।

दाहालप्रति आफूहरुको विश्वास हिजोको तुलनामा अझै फराकिलो भएको उल्लेख गर्दै सत्तारुढ दलहरुका तर्फबाट दाहाललाई विश्वासको मत दिँदै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले भन्नुभयो, ‘देशले राजनीतिक स्थायित्वको मार्गमा दृढताका साथ अगाडि बढ्ने अठोट गरेको छ । त्यो अठोटको नेतृत्व यो प्रतिनिधि सभाले गरेको छ, प्रधानमन्त्री दाहालले गर्नुभएको छ । राजनीतिक स्थायित्व कायम गर्दै देशलाई अघि बढाउने महाअभियानमा सरकारलाई साथ दिनु सबै दलको कर्तब्य हो ।’

सोमबार कांग्रेसको सदन अवरोधकैबिचमा प्रधानमन्त्री दाहालले विश्वासको मत सदनबाट मागेसँगै सत्तारुढ दल एमालेले पर्दाभित्रबाट कांग्रेसले सरकारलाई कमजोर पार्ने र परिवर्तन गर्ने कोसिसमा असफल भएको उहाँको टिप्पणी थियो ।

प्रतिनिधि सभामा सत्तारुढ दलबाट प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको घोषणा गर्दै एमाले उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘पारदर्शी ढंगले होइन, पर्दाभित्रबाट सरकारलाई कमजोर पार्ने, सरकार बदल्ने कोशिसहरु पनि भए,’ उहाँले थप्नुभयो, ‘त्यो कोसिस माकुरोको जालो जसरी च्यातियो । प्रतिनिधि सभाले सरकार परिवर्तन होइन अझ धेरै बल दिन चाहन्छ भन्ने कुरा घटनाक्रमले पुष्टि गरेको छ । सरकार परिवर्तनका निम्ति गरिएका प्रयासहरु माकुरोको जालो जसरी च्यातिएपछि स्वभाविक रुपमा त्यसका प्रतिक्रियाहरु सदनमा व्यक्त भैरहेका छन् ।’

उपाध्यक्ष पौडेलले कांग्रेस सरकार परिवर्तन गर्ने वा कमजोर पार्ने प्रयासमा असफल बनेपछि सदन अवरोधमा उत्रेको टिप्पणी गर्दै प्रश्न गर्नुभयो ।

‘कांग्रेसको प्रतिक्रिया पछाडिको कारणहरु हामी महसुस गर्न सक्छौँ । त्यसको अनुमान हामी गर्नसक्छौँ । बेचैनी छटपटी समस्याको समाधान होइन,’ पौडेलले भन्नुभयो ।

उहाँले आफूलाई सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टी मान्ने कांग्रेसले सदन अवरोध गर्न नहुनेमा जोड दिँदै पौडेलले प्रश्न गर्नुभयो, ‘प्रधानमन्त्रीज्यूले सदनको विश्वासका निम्ति अग्रसर हुँदा सभाको विश्वास छ भनेर विश्वासको मत लिने प्रक्रियालाई समेत अवरुद्ध गरेर कांग्रेसले कस्तो प्रकारको लोकतान्त्रको अभ्यास गरेको हो ?’

Share This:
सम्बन्धित खबर
Loading...