काठमाडौँ, २९ वैशाख । नेकपा (एमाले)को जनवर्गीय संगठन अनेरास्ववियुका उपाध्यक्ष एवम् ‘विद्यार्थी महोत्सव २०८१’ का संयोजक धर्म गिरीले विद्यार्थी आन्दोलनको भावी कार्यदिशा र मोडालिटी नै परिवर्तन गर्नेगरी विद्यार्थी महोत्सव आयोजना गर्न लागिएको बताउनुभएको छ ।
आगामी राजनीतिक एजेण्डा, मुलुकको समृद्धि र नेपालमा उत्पादित दक्ष जनशक्ति विश्व बजारमा बिक्ने खालको शिक्षा प्रणाली बनाउन दबाब दिने उद्देश्य अनुसार अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियनको ६०औँ स्थापना दिवसको अवसरमा ‘विद्यार्थी महोत्सव, २०८१’ आयोजना भइरहेको बताउनुभयो ।
शुक्रबार नेपाल न्युज बैंकसँग कुराकानी गर्दै अनेरास्ववियूका उपाध्यक्ष तथा विद्यार्थी महोत्सव, २०८१ का संयोजक गिरीले समग्र युवा विद्यार्थीको प्रतिनिधित्व गर्ने संगठन भएका कारण अन्य जनवर्गीय संगठनभन्दा विद्यार्थीबाट नै आन्दोलनको नयाँ प्रारुप निर्माणको सुरु गर्नुपर्ने भएकाकारण महोत्सवको अवधारणा ल्याइएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अबको विद्यार्थी आन्दोलनबाट समाजमा कस्ता खालका मानिसहरु खोजिरहेको छ ? विश्वविद्यालयले सोही अनुसारको जनशक्ति उत्पादन गर्नुपर्छ भन्ने महोत्सवको मुख्य एजेण्डा हो । आज एउटा विद्यार्थी विदेशको भिसा लागेको दिन खुसी हुने दिन आयो । विदेशको पिआर पाउँदा एउटा नेपाली युवा सर्वाधिक खुसी भइरहेको छ । यस्तो अवस्था कसरी आयो ? यसको अन्त्य गर्न महोत्सव सार्थक हुने हाम्रो विश्वास हो ।‘
अब विद्यार्थी आन्दोलनको मोडल परिवर्तन गर्नुपर्ने भन्ने उद्देश्यले अगामी जेठ १ देखि ३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने आयोजना गर्न लागिएको उहाँको भनाइ छ । विद्यार्थीहरु सडक आन्दोलन, उत्तेजना र आक्रोशमा मात्र हुँदैनन् प्राज्ञिक बहस गर्न, प्रतिभा देखाउन र मुलुकको भावीरेखा कोर्न सक्षम छन् भन्ने सन्देश दिनका लागि महोत्सव आयोजना गर्न लागिएको संयोजक गिरीको भनाइ छ ।
गिरीले महोत्सव आयोजनाका लागि करिब ७० लाख खर्च अनुमान गरिएको र उक्त सहयोगका लागि विद्यार्थी आन्दोलनबाट संसदीय राजनीतिमा लागेका नेता, व्यवसायी, विदेशमा रहेका युवाहरुबाट सहयोगको आह्वान गरिएको गिरीले बताउनुभयो ।
‘महोत्सवमा विभिन्न १४ वटा कार्यक्रमहरुलाई प्राथमिकतामा राखेको आयोजकले जनाएको छ । विश्वविद्यालयका इनोभेटिभ प्रतिभाहरुमार्फत विद्यालयका विद्यार्थीहरुलाई प्रोत्साहित गर्ने हेतुले महोत्सवको आयोजना गरेको बताएको आयोजकले करियर काउन्सिलिङ गर्ने, युवा सांसद बहस र संवाद, सांस्कृतिक प्रदर्शनी, विश्वविद्यालय जानकारी, कानुनी शिविर, लाइभ पेन्टिङ प्रतियोगिता, चलचित्र स्क्रिनिङ र दस्तावेजीकरण लगायतका विविध चौधवटा कार्यक्रमलाई महोत्सवमा समावेश गरेको बताएको छ ।
उल्लेखित प्रतियोगिताका उत्कृष्ट प्रतियोगिलाई पुरस्कारको व्यवस्थापन गरिएको गिरीले बताउनुभयो । ई–गेमिङबाट उत्कृष्ट भएकाहरुलाई एसियाली प्रतियोगिताहरुमा भाग लिनका लागि अवसर प्रदान गर्ने महोत्सवको लक्ष्य छ ।
महोत्सवमा नेपालमा विद्यार्थीको मूल्य, गुणस्तर र प्रवर्धनका लागि शिक्षाविद्, विद्यार्थी र सरोकारवालाहरूसँग छलफल समेत गर्ने जनाएको छ । महोत्सव अवधिभर दिउँसो तीन बजेदेखि साँझ सातबजेसम्म सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन हुनेछ ।
महोत्सवमा विद्यार्थी आन्दोलनलाई रचनात्मक गतिविधिसँग जोड्ने, विद्यार्थीको बहुआयामिक प्रतिभालाई उजागर गर्ने, युवामा रहेको कला, संस्कृति, सूचना प्रविधि र विज्ञानमा विद्यार्थीका कामका बारेमा पनि जानकारी गराइने आयोजकले जनाएको छ । महोत्सवको उदघाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको छ ।