इलामको समस्या समाधान मेरो प्राथमिकता : सुहाङ नेम्वाङ [भिडिओ]

32

काठमाडौँ, २६ वैशाख । नेकपा (एमाले)का नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । उहाँले आफ्नो बुवाले देखाएको इमान र निष्ठाको राजनीतिक बाटोमा हिँडेर सबैसँग सहकार्य गर्दै इलामको समस्या समाधान गर्न विशेष जोड दिने बताउनुभयो ।

नेपालमा विकासका धेरै काम भइरहे पनि कतिपय कानुनी र नीतिगत व्यवस्था र प्राविधिक ज्ञान अभावका कारण सुशासन कायम हुन नसकेको भन्दै उहाँले त्यस्ता समस्या समाधानमा समन्वयकारी भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।

‘नेपालमा धेरै विकासका काम भइरहेको छ, नीति निर्माण भइरहेको छ । तर संसदबाट धेरै ऐन, कानुन, नीति निर्माण भएका छन् । तर, ति प्राविधिक कारणले होस कि सुशासनको कमीले सबै कामहरुले पूर्णता प्राप्त गरेको छैन, कार्यान्वयन भएको छैन,’ उहाँले भन्नुभयो, ‘त्यही कारणले हामी सबैले एकअर्कासँग सहकार्य गरेर समन्वयकारी भूमिका खेलेर त्यसलाई कसरी पूर्णता दिन सकिन्छ र कानुन कार्यान्वयन गर्न एकताबद्ध लाग्नुपर्छ भन्ने मलाई लाग्छ । बुवाले देखाउनुभएको इमानको बाटोमा निष्ठापूर्वक ति सबै कामलाई पूर्णता दिने गरेर म अगाडि बढ्छु।’

आफूले इलामको विकासमा प्राथमिकता दिएर सघीय संसद्मा कृषि, शिक्षा, पर्यटनलगायतका क्षेत्रमा ऐन निर्माण वा संशोधन गर्नु आवश्यक भए त्यसमा पहल गर्नेमा उहाँले जोड दिनुभयो ।

‘इलामको समस्या समाधानका लागि संसदमा मैले के गर्नुपर्छ भन्नेमा मेरो विशेष ध्यान हुन्छ । साथै इलामको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनसँग जोडिएका एन कानुन निर्माणदेखि परिमार्जन सम्ममा ध्यान दिएर अगाडि बढ्नुपर्छ’ सांसद नेम्वाङले भन्नुभयो ।

सहकारी रकम हिनामिना प्रकरणमा कांग्रेसले राखेको संसदीय समिति गठनको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उहाँले भन्नुभयो, ‘हरेको कुराको हल सम्वादबाटै हुन्छ । त्यसैले सम्वाद गर्ने सौहार्दपूर्ण वातावरण बनाएर संसद्लाई राम्रोसँग चल्न दिनुपर्छ भन्ने लाग्छ ।’

बुधबार सिंहदरबारस्थित कृषि समितिको सभाहलमा सभामुख देवराज घिमिरेलेले उहाँलाई शपथ दिलाएर सांसदको प्रतिक चिह्न प्रदान गर्नुभएको थियो ।

सो अवसरमा सचिवालयका कर्मचारीहरूले सांसद नेम्वाङलाई नेपालको संविधान÷ऐन÷नियमका सामग्री प्रदान गरे भने कार्यक्रममा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत उपस्थित जनाएका थिए ।

नेम्वाङ गएको वैशाख १५ गते भएको उपनिर्वाचनमा इलाम–२ बाट निर्वाचित हुनुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...