सुहाङलाई डम्बरको बधाई : ‘विकासका लागि विजय सार्थक रहोस्’

30

इलाम, १८ वैशाख । इलाम २ को उपनिर्वाचनमा पराजित भएपछि कांग्रेस जिल्ला सभापतिसमेत रहनुभएका उम्मेदवार डम्बर खड्काले विजयी सुहाङ नेम्वाङलाई बधाई दिनुभएको छ ।

सभापति खड्काले जनताका आशा, अपेक्षा र आवश्यक्ता पूरा गर्दै क्षेत्रको समुचित विकासका लागि विजय सार्थक रहोस भन्ने शुभकामना दिनुभएको हो ।

‘लोकतन्त्रको सुन्दरपक्ष भनेकै निर्वाचन अनि निर्वाचनमार्फत स्वस्थ प्रतिस्पर्धा गर्ने र विजयीले सबै पक्षलाई समेटेर अगाडि बड्ने हो अतः उपनिर्वाचन २०८१ मार्फत् इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा एमालेका तर्फबाट उम्मेदवार सुहाङ नेम्बाङ विजयी बन्नुभएकोमा मेरो व्यक्तिगत र सिंगो नेपाली कांग्रेस पार्टीका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु,’ खड्काले भन्नुभयो ।

त्यस्तै, कांग्रेस इलाम सचिव पूर्णप्रसाद गौतमले विजयी उम्मेदवारलाई बधाई दिँदै प्राप्त जनमतको समान गर्न, जनअपेक्षा पूरा गर्न र सबैको साझा जनप्रतिनिधिको रूपमा प्रतिनिधित्व गर्दै सफल र इमान्दार सांसदको भूमिका निर्वाह गर्ने अपेक्षा रहेको बताउनुभयो ।

नेपाली कांग्रेस लोकतन्त्र र बहुलवादमा आधारित बहुदलीय संसदीय राजनीतिक प्रणालीको माध्यमबाट मुलुकको विकास र समृद्धिको पक्षमा थियो, छ र अविचलित रूपमा उक्त मान्यतामा दृढ रहनेछ । यस निर्वाचनमा नेपाली कांग्रेस, आफ्नो स्पष्ट सैद्धान्तिक र वैचारिक दृष्टिकोणकासाथ नीति र कार्यक्रम लिएर जनता र मतदाताको बीचमा गै रहँदा मतदाताबाट प्राप्त भएको अभिमत, विजय प्राप्त गर्नका निम्ति अपेक्षा अनुरूप पर्याप्त भएन तर नेपाली कांग्रेस प्रतिको विश्वास र भरोसा चाहिँ मतपत्रले प्रतिबिम्बित गरेको छ । यसका निम्ति नेपाली कांग्रेसको पक्षमा हुने सबैप्रति सादर कृतज्ञता व्यक्त गर्दछु । हाम्रा सवल पक्षको निरन्तरता र कमजोरी पक्षमा सुधार गर्दै अझ संगठित दर्विलो संस्थाको आभास हुनेगरी अगाडि बढ्न जरुरी भएको प्राप्त सन्देशलाई सम्मान गरौँ,’ सचिव गौतमले भन्नुभयो ।

उहाँले विजयको उन्माद र उत्तेजनाको प्रस्तुति भन्दा दायित्वबोध र जवाफदेहिता अनि पराजयको कुण्ठा र भावावेशभन्दा संयम भएर भावी यात्रा तय गर्नु बढी सान्दर्भिक हुने पनि अपेक्षा व्यक्त गर्नुभयो ।
इलाम–इलाम २ वाट प्रतिनिधि सभा सदस्यमा एमालेका सुहाङ नेम्वाङ विजयी भएपछि बधाईको ओइरो लागेको छ ।

निर्वाचनमा कांग्रेसका खड्कालाई ५ हजार ३० मतले उछिन्दै उहाँ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गर्दा कांग्रेसका खड्काले २१ हजार ९४२ मत प्राप्त गर्नुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...