काठमाडौँ, १७ वैशाख । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले आफ्नो ध्यान कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउनेतर्फ रहेको भन्दै पुराना कुरालाई भुलेर एमालेसँग नयाँ रुपमा हातेमालो गर्न आह्वान गर्नुभएको छ ।
केपी शर्मा ओलीतर्फ संकेत गर्दै नेपालले कम्युनिस्टले ठुलो सरकार र पार्टी समेत राम्ररी चलाउन नसकेको बताउनुभयो । उहाँले त्यसको समीक्षा गर्न अहिलेसम्म जाँगर आफूहरुमा नभएको उल्लेख गर्दै भन्नुभयो,‘गल्ती महसुस गर्न पर्छ कि, आत्मआलोचना गर्न पर्छ कि भनेर हामीलाई त्राहीमाम भएको छ । गल्ती हुनसक्छ । कुन ठुलो कुरो भो ? स्वीकार गर्ने र नदोहोर्याउने हो नि । अहिलेपनि विघटन(संसद्) गरेको ठिक गरियो भनिदिने, संविधान मिचेर ठिक काम गरियो भनिदिने ?’
सोमबार पार्टी निकट अखिल नेपाल महिला संघले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले एमालेसँगको पुरानो कुरालाई भूलेर आफू नयाँ ढंगले हातेमालो गरेर अगाडि बढ्न तयार भएको बताउनुभयो ।
‘अहिले पूरानो कुरा नगरौँ भने पनि ठिकै छ । कति पुराना कुरा मात्रै गर्ने ? नयाँ कुरा गरौँ । नयाँ ढंगले जाऔँ । हातेमालो गरौँ । देश र जनतालाई केन्द्रबिन्दुमा राखौँ । यो सबै कुराहरुको सन्दर्भमा नै हामीले सोच्नुपर्ने आवश्यकता छ,’ नेपालले भन्नुभयो ।
उहाँले आफ्नो ध्यान कसरी कम्युनिस्ट पार्टी र आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने भन्नेमा रहेको भन्दै कम्युनिस्ट पार्टी र आन्दोलनले नै देश र जनताको भलो गर्न सक्ने विश्वास आम जनतामा कसरी पुर्याउने भन्ने कुरामा कम्युनिस्टहरुको ध्यान केन्द्रित हुनुपर्नेमा नेता नेपालले जोड दिनुभयो ।
फरक प्रसंगमा अध्यक्ष नेपालले देशको सबै क्षेत्रमा विकास निर्माणको कार्यलाई अनुगमन, मूल्यांकन र अनुसन्धान गर्ने प्रणालीलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले देश चलाउने बुद्धि विकास गर्नसके मात्र जनताले लाभ पाउने भन्दै सरकारप्रति कटाक्ष गर्नुभयो । अध्यक्ष नेपालले देशमा ठिक समयम ठिक काम नभएको भन्दै टिप्पणी गर्नुभयो ।
उहाँले विकास निर्माण कार्य गर्दा दबाबमा पर्ने प्रणालीको अन्त्य हुनुपर्नेमा जोड दिँदै आफ्नो पार्टी देश विकासको सवालमा चिन्तित रहेको दाबी गर्नुभयो।
उहाँले पोखरा, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालन हुन नसकेको प्रति टिप्पणी गर्नुभयो । विकास निर्माण कार्य आवश्यकता र प्रतिफल हेरेरभन्दा पनि दबाब र प्रभावमा पर्दा फाइदा उठाउन नसकिएको धारणा राख्नुभयो ।
उहाँले आफ्नो पार्टी सरकारमा पद ओगट्नका लागि नगएको भन्दै आफ्ना मन्त्रीले सरकारमा हुँदा राम्रो काम गरेको जिकिर गर्नुभयो । यस्तै, उहाँले कार्यकर्ताहरुलाई पार्टी सत्ताको लागि नभएर जनता र देशको विकासको लागि भएको प्रष्ट्याउँदै सोही अनुसार काम गर्न आग्रह गर्नुभयो ।