बझाङ, १७ वैशाख । बझाङ प्रदेशसभा–१ मा भएको उपनिर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले अग्रता बनाउनुभएको छ ।
सुरुवाती परिणाममा नेकपा (एमाले)का दमनबहादुर भण्डारीले फराकिलो अन्तर बनाएपनि सोमबार बिहानसम्मको परिणाममा कांग्रेसका सिंह अगाडि लाग्नुभएको हो । कांग्रेस उम्मेदवार सिंहले ८ हजार २२७ मत पाउनुभएको छ भने एमालेका भण्डारीले ७ हजार ९७४ मत पाउनुभएको छ ।
त्यस्तै, नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढाले ३ हजार ३३, नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १७२, राप्रपाका किशोरकुमार खड्काले २०२, जनता समाजवादी पार्टीका रामबहादुर जाग्रीले ३९, जनमत पार्टीकी शुशिलादेवी विष्टले २१, नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाहीले १५ मत पाउनुभएको छ ।
छ वटा पालिका रहेको यो क्षेत्रको उपनिर्वाचनमा ३० हजार ३२८ मत खसेको छ । अहिलेसम्म २० हजारभन्दा बढी मत गणना भइसकेको छ । यसपटक यहाँ ११ दलका उम्मेदवार थिए । २०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।
कांग्रेस उम्मेदवार सिंह उहाँकै छोरा हुन् । गत निर्वाचनमा यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार रहेका सिंह १७ हजार ११२ मत प्राप्त गरी विजयी हुनुभएका थियो भने प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३७६ मत पाउनुभएको थियो ।