काठमाडौँ, १३ वैशाख । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले रुसी सेनामा भर्ना भएका नेपालीको अवस्थाबारे परराष्ट्र मन्त्रालयले समितिमा जवाफ दिनुपर्ने माग गर्नुभएको छ ।
मन्त्रालयले सबै नेपालीलाई स्वदेश ल्याउनुपर्नेमा जोड दिँदै त्यहाँ मारिएका तथा सम्पर्कविहीन भएकाको तथ्यांक परराष्ट्र मन्त्रालयले उपलब्ध गराउनुपर्ने पौडेलको धारणा छ ।
बुधबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा ध्यानाकर्षण पत्र दायर गर्नुहुँदै उहाँले रुसी सेनामा भर्ना भएका, त्यहाँ ज्यान गुमाएका तथा परिवारको सम्पर्कमा नआएका नेपालीको यकिन तथ्यांक उपलब्ध गराउन समितिको ध्यानाकर्षण गराउनुभयो ।
नेपाल र रुस दुवै देशको कानुनले नेपाली युवालाई रुसी सेनामा भर्ती हुने अनुमति नदिए पनि अध्ययन, भ्रमण भिसा वा अन्य अनौपचारिक माध्यमबाट गएका धेरै नेपालीहरु रुसी सेनामा भर्ना भएको औपचारिक तथा अनौपचारिक रुपमा विवरणहरु बाहिर आइरहेको भन्दै नेता पौडेलले सो बारे सरकारले के गर्दै छ भनेर दर्ता गराएको पत्रमा प्रश्न गर्नुभयो ।
‘यस सन्दर्भमा परराष्ट्र मन्त्रालयले के कस्तो पहलकदमी गरेको छ ? यति ठुलो संख्यामा नेपाली नागरिक रुसी सेनामा भर्ती भएको अवस्थामा समेत नेपाल सरकारसँग रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको यकिन संख्या समेत हालसम्म उपलब्ध नहुनुले सरकारको कूटनीतिक पहलमा कमजोरी रहेको देखिन्छ’ दर्ता गरिएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
रुसी सेनामा भर्ना भएका नेपालीका परिवारका सदस्य र आफन्तहरूले अवस्था तनावयुक्त रहेको उल्लेख गरेका पौडेलले सडकदेखि संसदसम्म सो विषयमा आवाज उठाउँदा समेत सरकार गम्भीर नभएको आरोप लगाउनुभयो ।
‘यस्तो गम्भीर विषयलाई समेत नेपाल सरकारले वेवास्ता गरेको देखिन्छ । पटक पटक सरोकारवालाहरूले ध्यानाकर्षण गराउँदा समेत नेपाल सरकारले यस विषयलाई लिएर गम्भीर नभएको हुँदा प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७३ बमोजिम यस समिति अन्तर्गत पर्ने परराष्ट्र मन्त्रालयको सम्बन्धित मन्त्री एवम् जिम्मेवार अधिकारीलाई समितिमा बोलाई नियमावलीको नियम १७८ बमोजिम रुसी सेनामा भर्ती भएका नेपाली नागरिकको अवस्था उनीहरूको सुरक्षा र नेपाल फिर्ता गराउन सरकारले गरेको पहल बारे समितिमा जानकारी गराउन र तदारुकताका साथ प्रभावकारी कदम चाल्नका लागि नेपाल सरकारलाई आवश्यक निर्देशन दिन आवश्यक देखिन्छ ।’
साथै, यस सन्दर्भमा समितिको बैठकमा सरोकारवालाई बोलाई छलफल गर्नुपर्ने घाइते भएका व्यक्तिहरूलाई उचित उपचारको व्यवस्था मिलाई मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने सम्बन्धमा समेत समितिले थप निर्देशन दिनुपर्ने माग पौडेलको छ ।