प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी भएन : मन्त्री अर्याल

21

काठमाडौँ, १३ वैशाख । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगार सिर्जना नगरेको बताउनुभएको छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको बैठकमा उहाँले राष्ट्रिय गौरवका आयोजनाका कार्यमा भन्दा चौतारो र सिढी प्रधानमन्त्री रोजगार कार्यक्रम केन्द्रित रहेको भन्दै यसले स्वरोजगारको संख्या नबढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री रोजगार कार्यक्रमले चौतारो, सिढी बनाउनभन्दा बाहेक राष्ट्रिय गौरवका आयोजनाहरु, सडक, घर, पोल निर्माण जस्ता काममा लगाइदिएको थियो भने राम्रो हुने थियो । अथवा त्यही कार्यक्रमलाई तालिममा लगाएका थियौँ भने स्वरोजगारको संख्या बढ्ने थियो । तर, हामीले चौतारो, सिँढी बनाउन सिक्यौ यो समाजको लागि आवश्यक भएपनि यो रोजगार सिर्जना गरेको होइन ।’

उहाँले विदेशीले दिएको सहयोग भन्दैमा औचित्यहीन कार्यमा खर्च गर्न नहुने भन्दै त्यसको सहि सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यसमा तरिका परिवर्तन गरौँ । विदेशीले दिएको सहयोग हो भन्दैमा हामीले छर्ने काम नगरौँ । जसको औचित्य नै पुष्टि हुँदैन । जसले परिणाम नै निकाल्दैन त्यो स्थानमा खर्च नगरौँ । किनभने त्यो ऋण भएपनि अनुदान भएपनि हामीले नै लिएको हो । यसको सदुपयोग गर्नुपर्छ ।’

मन्त्रालयले गरेको कारबाहीको आधारमा सफल र असफलको प्रश्न उठ्ने कुरा गलत भएको भन्दै आफूले म्यानपावर व्यवसायीहरुलाई कारबाही गर्नुपर्ने वातावरण सिर्जना नगर्न अनुरोध गरेको बताउनुभयो ।

विदेशमा रहेका उद्धारको पर्खाइमा बसेका, जेलमा रहेका, शव ल्याउन बाँकी रहेका सबै नेपालीहरुको अवस्थाको डाटा बोर्डमार्फत् माग गरेको भन्दै यसको समाधानका लागि बोर्ड र मन्त्रालयले काम गरिरहेका उहाँले जानकारी दिनुभयो ।

फरक प्रसंगमा मन्त्री अर्यालले नेपाल र कतारबीच २००५ मा भएको सहयोग सम्झौतामा हस्ताक्षर समयसापेक्ष नभएकाले दुवै पक्षबाट प्राविधिक समूह बनाउने र त्यसले तल्लो तहदेखि नै अध्ययन गर्ने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...