काठमाडौँ, १० वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले साढे पाँच लाख सदस्य भएको एमालेमा कोही एक जनाले बोल्दा जिब्रो लटपटियो भने हंगामा हुने गरेको बताउनुभएको छ ।
सोमबार नेकपा स्थापनाको ७६ वर्ष लागेको अवसरमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै उहाँले साढे पाँच लाख सदस्य भएको एमालेमा कोही एकजनाले बोल्दा जिब्रो लटपटियो भने हंगामा चल्ने भएकाले एमाले सतर्क रहनुपर्ने र एमाले एकताबद्ध हुनुपर्ने जिकिर गर्नुभयो।
‘यत्रो पार्टीमा पाँच लाखभन्दा बढी सदस्य छन् । कोही एक जनाले कहीँकतै बोल्दाखेरी अलिकति जिब्रो चिप्लियो भने समाचार बन्छ । हंगामा चल्छ । विभिन्न पक्षमा आशा पलाउन थाल्छ, यसमा सतर्क हुने कुरा मात्र हो ।’
उहाँले भन्नुभयो,‘नेकपा एमाले आज एकताबद्ध, एक ढिक्का छ र एकताबद्ध रहनेछ । एमालेले आफ्नो काँधमा अभिभारा रहेको बुझेको छ । समृद्ध नेपाल सुखी नेपाली बनाउन हामीले गर्छौँ भनेका छैनौँ । अरु साथीहरुलाई पनि साथ लिएर गर्ने भनेका हौँ । तर यसको अगुवाइ एमालेले गर्नुपर्छ । हामीले पदको होइन विचारको अगुवाइ गर्दै आएका छौँ । सरकारमा होस कि नहोस् ।’
उहाँले कम्युनिस्ट जन्मिएपछि राणा शासन अन्त्य भएको र देशमा उथलपुथल भएर जनताले जित्दै आएको कुरा स्मरण गर्नुभयो । नेपालमा पनि कम्युनिस्ट पार्टी जन्मिएपछि लाभैलाभ भएको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘कम्युनिस्टको जन्म भयो कि यहाँ राणा शासन विरोधी आन्दोलनदेखि राणा शासन फ्याँकिनेदेखि अनेक खालका उथलपुथल भइरहेका छन् । तर, अन्तिममा जनताले जित्दै आएका छन् । गाउँतिर भन्छन् नि मेरो त छोरी जन्मिएपछि लाभैलाभ भएको छ । नेपालमा पनि कम्युनिस्ट पार्टी जन्मिएपछि लाभैलाभ भइरहेको छ ।’