पहिचानको मुद्दा कांग्रेसले मात्र सम्बोधन गर्न सक्छ : प्रदीप पौडेल

27

इलाम, ९ वैशाख । नेपाली कांग्रेसका नेता एवम् सांसद प्रदीप पौडेलले निर्वाचनका मुखमा गठबन्धन गरेर आउने दलहरुलाई पराजित गर्न आह्वान गर्नुभएको छ ।

आइतबार इलाम २ को उपनिर्वाचनका लागि घरदैलो अभियानमा सहभागी हुनुभएका नेता पौडेलले ०४८ यता नेकपा (एमाले)ले एक्लै चुनाव लड्न नसकेको उल्लेख गर्नुभयो । उहाँले किरात सभ्यता भनेको कुनै समुदायमा केद्रित नभइ नेपालको सभ्यता भएकाले सबैको अस्तित्व स्वीकार्न सक्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘संस्कृति र सभ्यता सबै व्यक्तिको मौलिकता हो । हरेक व्यक्तिले आफ्नो मौलिकता सुरक्षित राख्न पाउनुपर्छ । किरात सभ्यता भनेको नेपालको सभ्यता र संस्कृति भएकाले यसका लागि कांग्रेस गम्भीर छ । सबैको अस्तित्व स्वीकारेर हिँड्न कांग्रेस सधैँ तयार छ ।’

२०७९ को निर्वाचनमा कांग्रेसले गठबन्धन गरेर गल्ती गरेको उल्लेख गर्दै जनताले स्पष्ट मतदान गरेको बताउनुभयो । वैशाख १५ को निर्वाचनमा डम्बर खड्का एक्लै मैदानमा रहेकाले स्पष्ट विचार भएको कांग्रेस पार्टीका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । सबैको पहिचान स्थापित गर्न ठुलो दल कांग्रेसले इलामबाट जित्नुपर्ने उहाँको भनाइ छ ।

‘इलामको समस्या बुझेको, सबै समुदायको पहिचान बुझेको र दशकौँदेखि इलामेली जनताको मनमा बसेको नेता डम्बर खड्का नै हुन् । उनलाई विजयी गरेर पठाउँदा संघीय ससदमा पहिलो दल रहेको कांग्रेसले पहिचानलगातका मुद्दा सम्बोधन गर्न सक्छ,’ नेता पौडेलले भन्नुभयो ।

इलामको समृद्धिमा सघाउन कांग्रेसका उम्मेदवार एक्लै नभएको उल्लेख गर्नुभएका पौडेलले डम्बर खड्कालाई सिंगो पार्टीलाई साथ दिने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...