ख्रिष्टियन धर्मका अनुयायीहरुलाई तत्काल रिहा नगरे आन्दोलन

36

काठमाडौँ, ३० फागुन । राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालले धर्म प्रचारको झुटो आरोपमा गिरफ्तार गरिएका ख्रिष्टियन धर्मका अनुयायीहरुलाई सरकारले तत्काल रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी संविधानविपरीत धार्मिक द्वन्द्व निम्त्याउने सरकारी रवैया मान्य नभएको समेत जनाएको हो ।

मंगलबार बारा जिल्लाको कोल्हवी नगरपालिका वडा नम्बर ५ स्थित रामवन गाउँमा सुतिरहेको अवस्थामा धर्म प्रचारको आरोपमा ६ जना अष्ट्रेलियन र चारजना नेपालीलाई प्रहरी प्रशासनले गिरफ्तार गरेकोप्रति महासंघले गम्भीर ध्यानकर्षण भएको बताएको छ । प्रशासनले गरेको गलत रवैयाको कारण देशको बदनाम हुने र धार्मिक सद्भाव खल्बलिनेमा चिन्ता व्यक्त गरेको छ ।

महासंघका कार्यबाहक अध्यक्ष उद्धवप्रसाद चिमोरियाले नेपालको संविधान २०७२ ले नेपाल धर्म निरपेक्ष राष्ट्र भएको र सबै धर्महरुलाई समान अधिकारको प्रत्याभूति गरेपनि त्यसको बर्खिलापमा प्रशासन जानु दुःखद् भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

महासंघ सहअध्यक्ष तुलसीप्रसाद श्रेष्ठले पूर्वअध्यक्ष सिबी गहतराजले महासंघको नीति र विधिविपरीत गएर कमिटी विस्तारका नाममा समुदायलाई भ्रम फैलाइरहेकोप्रति रोष व्यक्त गर्नुभयो ।

महासचिव ज्ञानेन्द्रराज सापकोटाले धर्म निरपेक्ष राष्ट्रमा संविधानको उल्लंघन गरी आफ्नो समुदायका व्यक्तिहरुलाई गिरफ्तार गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । सापकोटाले अल्पसंख्यक धार्मिक समुदायमाथि शक्तिको दूरुपयोग गरी ख्रिष्टियनहरुलाई धर्म प्रचारको झुटो आरोपमा धार्मिक सहिष्णुतामाथि खलल पुर्याएको आरोप लगाउँदै गिरफ्तार भएकाहरुलाई तत्काल रिहा नगरे कडा आन्दोलनको चेतावनी दिनुभयो ।

उपमहासचिव उपेश नौवागले महासंघलाई निकाश दिन पूर्वअध्यक्ष गहतराजले भ्रमको खेती गरिहेको आरोप लगाउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...