काठमाडौँ, ३ चैत । काठमाडौँको महाराजगञ्जमा स्थापना गरिएको अरिन अस्पताल ‘बुटिक हस्पिटल’ अवधारणासहित छिट्टै पूर्ण रुपमा सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ । २५ शय्याको बहु–विशेषज्ञ अस्पतालले सानो संरचनाभित्र उच्चस्तरीय, प्रविधिमैत्री र बिरामीकेन्द्रित स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ ।
नेपाल न्युज बैङ्कसँगको कुराकानीमा छाला रोग विशेषज्ञ तथा अस्पतालकी मेडिकल डाइरेक्टर डा.लैला लामा ताङ्बेतानीका अनुसार अस्पतालको मुख्य उद्देश्य सीमित शय्याभित्र अन्तर्राष्ट्रियस्तरको सेवा उपलब्ध गराउनु रहेको जानकारी दिनुभयो ।
“हाम्रो अस्पताल सञ्चालनको भनेको बुटिक हस्पिटलको कन्सेप्टमा अगाडि बढेका छौँ । साइज सानो, बेडको संख्या कम भए पनि क्वालिटी अफ केयर हाइएस्ट दिनु हाम्रो उद्देश्य हो,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार अस्पताल पूर्ण रूपमा डिजिटल प्रणालीमा सञ्चालन हुनेगरी विकास गरिएको छ । बिरामी दर्तादेखि उपचार प्रक्रिया, परीक्षण रिपोर्ट र अभिलेख व्यवस्थापनसम्म सबै डिजिटल माध्यमबाट सञ्चालन गरिनेछ । दीर्घकालमा अस्पताललाई पूर्ण रूपमा ‘पेपर–फ्री’ बनाउने योजना छ ।

उहाँले भन्नुभयो, “हामी पूर्ण रूपमा डिजिटल रूपमा अपरेट हुने अस्पताल बनाउँदै छौँ । पेपर–फ्री बनाउने लक्ष्य हो । पेसेन्टको इन्फर्मेसनदेखि लिएर टेस्ट रिपोर्टसम्म सबै डिजिटलाइज हुनेछ ।”
अस्पतालले उपचारसँगै बिरामीलाई अस्पतालजन्य संक्रमणबाट जोगाउने कुरालाई उच्च प्राथमिकता दिएको जनाएको छ । स्वच्छता, स्टरलाइजेसन प्रविधि र सुरक्षित उपचार वातावरणमा विशेष ध्यान दिइने छ । “पेसेन्ट यहाँ उपचार गर्न आउँदा संक्रमण लिएर जानु हुँदैन भन्ने मुख्य प्राथमिकता हो । त्यसैले स्टरलाइजेसन टेक्निक र क्लिनलिनेसमा विशेष फोकस गरेका छौँ,” उहाँले भन्नुभयो ।
विशेषगरी जोइन्ट रिप्लेसमेन्ट सर्जरी तथा कस्मेटिक एवम् प्लास्टिक सर्जरीमा केन्द्रित भएर सेवा दिने जनाएको छ । यसका लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका दुईवटा मोड्युलर अपरेसन थिएटर तयार गरिएको डाइरेक्टर ताङ्बेतानीको भनाइ छ । यसमा थप्दै उहाँले भन्नुभयो, “हाम्रो मोर फोकस अपरेटिभ ट्रिटमेन्टमा छ । विशेषगरी जोइन्ट रिप्लेसमेन्ट सर्जरी र कस्मेटिक सर्जरीमा छ । त्यसका लागि इन्टरनेसनल स्ट्यान्डर्डका ओटी तयार गरेका छौँ ।”

उहाँका अनुसार आगामी दिनमा एआई–आधारित असिस्टेड टेक्नोलोजी तथा रोबोटिक सर्जरीसमेत सेवा भित्र्याउने योजना छ । अस्पतालमा जनरल मेडिसिन, पल्मोनोलोजी, कार्डियोलोजी, इन्डोक्राइनोलोजी, ग्यास्ट्रोएन्टेरोलोजी, डर्माटोलोजीलगायत विभिन्न चिकित्सा सेवा उपलब्ध हुने छन् । साथै अर्थोपेडिक, ग्यास्ट्रो, युरो, इएनटी तथा अन्य शल्य सेवाहरू पनि सञ्चालन गरिनेछ ।
“हामीले सानो सेटअपमा नै मेडिकल र सर्जिकल सबस्पेसालिटी सबै सेवा दिने योजना बनाएका छौँ,” उहाँले भन्नुभयो ।
डा.ताङ्बेतानीका अनुसार अस्पतालले बिरामी र उनका आफन्तलाई अनावश्यक झन्झटबाट मुक्त गराउने गरी सेवा प्रणाली विकास गरेको जनाएको छ । एउटै स्थानमा परामर्श, परीक्षण र उपचार उपलब्ध हुने व्यवस्था मिलाइनेछ । “पेसेन्ट र पेसेन्ट पार्टीले आफैँ भागदौड गर्न नपरोस् भन्ने हिसाबले सेवाको डिजाइन गरेका छौँ ।”

बहुविशेषज्ञ चिकित्सकीय सेवा
अरिन हस्पिटलमा विभिन्न विधाका चिकित्सकीय सेवाहरूअन्तर्गत विशेषज्ञ परामर्श र उपचार उपलब्ध हुनेछ । यहाँ आउने बिरामीहरूले अनुभवी चिकित्सकबाट रोग पहिचान, उपचार, रोग व्यवस्थापन तथा आवश्यक परेको खण्डमा सम्बन्धित विशेषज्ञकहाँ सहज रेफरल सेवा प्राप्त गर्नेछन् । अस्पतालमा बहिरंग परामर्श तथा चिकित्सकीय सेवा उपलब्ध हुनेछ । त्यस्तै, जनरल मेडिसिन, पल्मोनोलोजी, कार्डियोलोजी, हेपाटोलोजी, इन्डोक्राइनोलोजी, ग्यास्ट्रोएन्टेरोलोजी, युरोलोजी, डर्माटोलोजी, अप्थाल्मोलोजी, मनोरोगविज्ञान, रुमाटोलोजीलगायतका सेवाहरु उपलब्ध गराइने अस्पताल प्रशासनको भनाइ छ ।
यस्ता सेवाहरूले आकस्मिक प्रकृतिका रोगदेखि दीर्घकालीन जटिल स्वास्थ्य समस्यासम्मको पहिचान, उपचार र दीर्घ व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने छन् ।
शल्य विशेषज्ञता
हस्पिटलले विभिन्न शल्य विधामा पनि विशेषज्ञ सेवा प्रदान गर्ने जनाएको छ । जसमा अर्थोपेडिक सर्जरी, प्लास्टिक तथा कस्मेटिक सर्जरी, स्त्री तथा प्रसूति शल्य सेवा, इएनटी (कान, नाक, घाँटी) सर्जरी, युरोलोजिकल सर्जरी, ग्यास्ट्रोइन्टेस्टाइनल सर्जरी उपलब्ध गराइने जनाइएको छ ।
अस्पतालका चिकित्सकसँग परामर्शका लागि आउने बिरामीलाई थप मूल्याङ्कन वा शल्य उपचार आवश्यक परेमा सम्बन्धित शल्य विशेषज्ञकहाँ सहज, छिटो र समन्वित प्रणाली अगाडि बढाइएको अस्पतालले जनाएको छ ।
हस्पिटलको बहिरंग सेवा विभाग (ओपिडी) बिरामीका लागि परामर्श, रोग पहिचान र उपचार योजना तय गर्ने प्रमुख प्रवेश बिन्दु मानिएको छ ।

हस्पिटलमा आधुनिक शल्य मापदण्डअनुसार निर्मित अत्याधुनिक मोड्युलर अपरेसन थिएटरहरू रहने र जसले निष्कलंकता, सुरक्षा र सटीकतालाई उच्च प्राथमिकता दिने हस्पिटल प्रशासनको दाबी छ । यस्ता शल्य कक्षहरूमा जोइन्ट रिप्लेसमेन्ट सर्जरी, कस्मेटिक सर्जरी, न्यून चिरफारबाट गरिने शल्य प्रक्रिया तथा अन्य जटिल शल्य उपचारहरू सञ्चालन गर्न सकिनेछ । अस्पतालको प्रयोगशाला सेवा नेसनल रेफरेन्स लेबोरेटरीले (एनआरएल) व्यवस्थापन गर्ने जनाइएको छ ।
इमेजिङ तथा निदान प्रविधि
अस्पतालमा हाल अल्ट्रासाउन्ड, इकोकार्डियोग्राफी (इको), डिजिटल एक्स–रे, एन्डोस्कोपी, कोलोनोस्कोपी, सिग्मोइडोस्कोपी, इलेक्ट्रोकार्डियोग्राफी, होल्टर मोनिटरिङ, पल्मोनरी फङ्सन टेस्ट सेवाहरू अस्पतालभित्रै एकीकृत रूपमा उपलब्ध हुने जनाइएको छ । साथै अस्पतालमा पाँचवटा सुव्यवस्थित भर्ना क्याबिन समेत उपलब्ध गराइएको छ । साथै हस्पिटलमा १० शय्याको जनरल वार्ड पनि रहने जनाइएको छ । हस्पिटलमा पूर्ण रूपमा सुसज्जित आइसियू र छुट्टै पोस्ट–अपरेटिभ रिकभरी क्षेत्र रहने जनाइएको छ । फिजियोथेरापी तथा पुनःस्थापना सेवा प्राथमिकतामा राखिएको छ ।
अस्पतालमा विशेषगरी जोर्नी तथा मांसपेशीसम्बन्धी चोटपटक, शल्यक्रियापछिको पुनःस्थापना, खेलकुदजन्य चोट, दीर्घकालीन दुखाइसम्बन्धी समस्या, हिँड्डुल वा गतिशीलतामा सीमितता, स्नायू तथा मांसपेशीसम्बन्धी समस्या, फिजियोथेरापी विभागको मुख्य उद्देश्य बिरामीलाई शारीरिक गतिशीलता पुनःस्थापित गराउने लक्ष्य लिएको जनाएको छ ।
हस्पिटलले बिरामी र परिवारलाई उपचार प्रक्रियामा सहजता दिलाउन संरचित उपचार प्याकेजहरू पनि ल्याउने जनाएको छ । उपलब्ध प्याकेजहरूले परामर्शदेखि परीक्षण, शल्यक्रिया र पुनःस्थापनासम्मको सम्पूर्ण उपचार प्रक्रियालाई थप व्यवस्थित, स्पष्ट, अनुमानयोग्य र सुविधाजनक बनाउने लक्ष्य लिएको छ ।
नेपालमा स्वास्थ्य सेवा दिने तरिका र बिरामीले स्वास्थ्य सेवा अनुभूति गर्ने ढाँचामै परिवर्तन ल्याउने दृष्टि रहेको र उन्नत चिकित्सकीय प्रविधि, विभिन्न विधाका अनुभवी विशेषज्ञ, तालिमप्राप्त स्वास्थ्यकर्मी र एकीकृत डिजिटल प्रणालीको संयोजनमार्फत अस्पतालले दक्ष, सुरक्षित र बिरामीमैत्री स्वास्थ्य वातावरण निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ । –नेपाल न्युज बैङ्क