सडक र सहरी सुरक्षा तथा व्यवस्थापनमा महानगर र प्रहरीबिचको सहकार्य बलियो बनाइने

8

काठमाडौँ, ३ वैशाख । सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीबिचको सम्बन्ध थप बलियो बनाइने भएको छ ।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीका बिचमा भएको भेटघाटका क्रममा सडक, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा अहिलेको अवस्था र आवश्यकतामा छलफल गर्दै आपसी सम्बन्धलाई थप बलियो बनाएर नागरिकलाई सेवा प्रत्याभूति गराइने विषयमा कुराकानी भएको हो ।

भेटका क्रममा कार्यवाहक प्रमुख डङ्गोलले भन्नुभयो, “सडक सुरक्षा र ट्राफिक व्यवस्थापन, अतिक्रमित सार्वजनिक जग्गा संरक्षण र सार्वजनिक उपयोग प्रवर्द्धन, अव्यवस्थित बसोबास व्यवस्थापन, सहरी व्यवस्थापन, सहरलाई सडक मानवमुक्त बनाउने अभियानलगायतका काममा हामी नेपाल प्रहरीसँग सहकार्य गर्न चाहन्छौँ । महानगर प्रहरी बललाई नेपाल प्रहरीको साथले बलियो बनाउनेछ । यसले नागरिकहरूले महसुस गर्ने परिवर्तन प्राप्त गर्नुहुनेछ ।”

त्यसक्रममा महानिरीक्षक कार्कीले, महानगरपालिकालाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउन आफू तयार रहेको बताउनुभयो ।

“उपत्यका प्रहरी कार्यालयमार्फत महानगरपालिकाका काममा समन्वय हुने छ । यसका लागि हामीले फोकल पर्सन तोकेका छौँ,” उहाँले भन्नुभयो, “सचेतनामूलक कार्यक्रमबाट नागरिक सहभागिता र प्रविधिको प्रयोग बढाएर जनशक्ति कम र नतिजा धेरै आउने प्रणाली विकास गर्न हामीले महानगरपालिकाबाट सहयोग अपेक्षा गरेका छौँ ।”

छलफलका क्रममा लागु औषधको दुर्व्यसन नियन्त्रण, सार्वजनिक स्थलमा धुमपान र मद्यपान नियन्त्रण, पार्किङ व्यवस्थापन, सडक संकेत र ट्राफिक व्यवस्थापन, रात्रि बस र बिहानी बस सेवाको सुरक्षा, सडक मानव मुक्त काठमाडौँ कार्यक्रमअन्तर्गत सञ्चालन हुने सडक सेवामा नेपाल प्रहरीको सहभागितालगायत विषयमा छलफल भएको थियो ।

छलफलमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसहित महानगरका अधिकारीहरू र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीसहित प्रतिनिधिहरू सहभागी थिए ।

Share This:
सम्बन्धित खबर
Loading...