चार दिनमा बझाङ केन्द्रबिन्दु भएर १५ पटक भूकम्प
काठमाडौँ, २० असोज । बझाङ केन्द्रबिन्दु भएर आज दिउँसो ११ः४५ बजे ५.३ र १२ः३२ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको छ ।
आजको भूकम्प गत मंगलबार दिउँसो बझाङ केन्द्रबिन्दु भएर गएको ६.३ रेक्टर स्केलको भूकम्पको पराकम्प रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार पछिल्लो ४ दिनमा बझाङ केन्द्रबिन्दु भएर १५ पटक भूकम्पका धक्का मापन गरिएका छन् ।
वरिष्ठ भूकम्पविद् विजयप्रसाद कोइरालाका अनुसार सुदूरपश्चिम क्षेत्रमा ठुलो शक्ति सञ्चित भएर बसेकाले उच्च जोखिम छ । आजको भूकम्प मंगलबार गएको भूकम्पको पराकम्प रहेको उनको भनाइ छ ।
“सन् १५०५ यता त्यहाँ ठुलो भूकम्प गएको छैन । त्यसैले त्यस क्षेत्रमा ठुलो शक्ति सञ्चित भएको छ । दुईवटा प्लेट जुधेर सञ्चित भएको शक्ति निकास हुने भनेकै भूकम्पबाटै हो,” उनले भने,“मंगबार मझौला खालको भूकम्प गएकामा त्यसका पराकम्प अझै आइरहेका छन् । अझै केही दिन यस्ता पराकम्प आउन सक्छ ।”
सुदूरपश्चिम क्षेत्रमा सञ्चित भएर बसेको शक्ति निकासका लागि कुनै समय ठुलै भूकम्प जानसक्ने अनुमान गरिएको छ । स–साना कम्पनबाट त्यस्तो शक्ति निकास भएमा ठुलो संकट टर्ने कोइराला बताउँछन् ।