कैदी मृत्यु प्रकरण : प्रहरीसहित १२ जनामाथि अनुसन्धान जारी

124

खाँदबारी, २ भदौ । सङ्खुवासभा कारागारभित्र कुटपिटबाट २ कैदीको मृत्यु भएको घटनामा प्रहरीसहित १२ जनामाथि अनुसन्धान भइरहेको छ । कैदी मृत्यु प्रकरणमा प्रहरीका प्रहरी सहायक निरीक्षक (असई)सहित एक दर्जनलाई अनुसन्धानको दायरामा तानिएको प्रहरी नायब उपरीक्ष (डिएसपी) वीरेन्द्र गोदारले बताए ।

कागरागारमा रहेको सिसिटिभी फुटेज अध्ययनबाट घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नता देखिएको थियो ।

डिएसपी गोदारका अनुसार घटनामा संलग्न देखिएका प्रहरी र कैदीसहित उनीहरूविरूद्ध ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । अनुसन्धानमा रहेकाहरूको नाम प्रहरीले खुलाएको छैन । कैदी मृत्यु प्रकरणमा प्रत्यक्ष संलग्न देखिएका ५ जना प्रहरीलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको डिएसपी गोदारले बताए ।

प्रहरीले साउन २८ गते आइतबार कारागार सुरक्षा इञ्चार्ज असई लक्ष्मी चौधरीमाथि ५ दिनको म्याद थप गरी अनुसन्धान गरिहेको थियो । असई चौधरीलाई शुक्रबार पुनः ५ दिन म्याद थप गरेको छ भने अन्य ११ जनालाई पहिलो म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

घटनामा संलग्नलाई छानबिन टोलीको प्रतिवेदनको आधारमा थप कारबाही प्रक्रिया अघि बढाइने डिएसपी गोदारले बताए । घटनापछि गृह मन्त्रालयले कारागार विभागका निर्देशक कमलप्रसाद पाण्डेको नेतृत्वमा ५ सदस्यीय अनुसन्धान टोली बनाएको थियो ।

पीडितले दिएको किटानी जाहेरीका आधारमा असई चौधरीसहित कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरेविरूद्ध जिल्ला अदालत सङ्खुवासभाले साउन २८ गते पक्राउका लागि अनुमति दिएको थियो । कारागारका निमित्त प्रमुख घिमिरेलाई भने हालसम्म पक्राउ गरिएको छैन ।

खाँदबारी नगरपालिका–१ मा रहेको कारागार कार्यालय सङ्खुवासभामा रहेका मादी नगरपालिका–५ फेलेदै बस्ने २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–९ का २७ वर्षीय विकास श्रेष्ठ भन्ने आकाश बलामीको साउन २४ गते बुधबार बिहान मृत्यु भएको थियो ।

घटनालगत्तै गृह मन्त्रालयले यही साउन २४ गते छानबिन समिति गठन गरेको थियो । अनुसन्धानपछि केन्द्रीय छानबिन समितिले शुक्रबार कारागार घटनाको प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको छ ।

अहिले सङ्खुवासभा कारागारमा ८ महिलासहित १३६ कैदीबन्दी छन् ।

सम्बन्धित समाचार 

Share This:
सम्बन्धित खबर
Loading...