खोटाङ, ३० जेठ । हलेसी तुवाचुङ नगरपालिकाले घरबारविहीन विपन्न घर परिवारका लागि जस्तापाताको छानासहितको भूकम्पप्रतिरोधी नयाँ घर निर्माण गरेर हस्तान्तरण गरेको छ ।
बिहानरबेलुकाको छाक टार्नसमेत धौधौ पर्ने वडा नम्बर १० अर्खौलेस्थित नागीका टेकबहादुर सार्कीको परिवारलाई नगरपालिकाले भूकम्प प्रतिरोधी दुईकोठे घर निर्माण गरेर हस्तान्तरण गरेको हो ।
सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत नगरपालिकाका तीन घर विपन्न परिवारका लागि भूकम्प प्रतिरोधी घर हस्तान्तरण गरिएको नगरप्रमुख विमला राईले जानकारी दिनुभयो । “तीन विपन्न परिवारका लागि भूकम्पप्रतिरोधी घर निर्माण गरिएको छ । जीर्ण घरमा बस्दै आएका मङ्गलटारका भया दमाई र डिकुवाका देशवीर राईका लागि पनि घर निर्माण सम्पन्न भइसकेको छ ।”
उहाँले भन्नुभयो, “बाँकी दुई परिवारलाई चाँडै औपचारिक रूपमा हस्तान्तरण गर्ने तयारीमा छौँ । आफ्नो घर अभावमा अरुको सहारामा बस्दै आएका सबै परिवारलाई सुरक्षित आवासको सुनिश्चितता कायम गरिने छ ।”
आफ्नो घर नभएपछि फिरन्ते जीवन बिताउँदै आएका सार्की परिवार भूकम्प प्रतिरोधी घर पाएसँगै हर्षित भएका छन् । नगरपालिकाको १३६औँ कार्यपालिकाको बैठकले विपन्न तीन परिवारलाई भूकम्प प्रतिरोधी घर निर्माण गर्ने निर्णय नगरपालिकाले गरेको थियो ।
नगर कार्यपालिकाको निर्णयअनुसार अर्खौलेका टेकबहादुर, मङ्गलटारका भया दमाई र डिकुवाका देशवीर राईका लाागि प्रतिपरिवार रु पाँच लाख बराबरको लगानीमा घर निर्माण गरिएको नगरप्रवक्ता एवम् वडा नम्बर ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो ।
अर्खौले जन्मस्थान भइ करिब १२ वर्षदेखि गाउँ बाहिर विभिन्न ठाउँका स्थानीयको घरमा बस्दै आएका सार्की परिवार गत भदौमा आफ्नो गाउँ फर्किएका थिए । दैनिक ज्यालादारी तथा बनीबुतोको काम गरेर परिवार पाल्दै आउनुभएका टेकबहादुरको श्रीमती र १० वर्षीय छोरा छन् ।
हलेसी तुवाचुङ नगरपालिकाले राजधानी काठमाडौँ तथा तराईको विभिन्न जिल्लामा अस्थायी रूपमा बसोबास गर्दै आएका अवस्थामा घरटहरा हटाइएपछि विस्थापित नगरवासीलाई घर निर्माण गरिदिने भएको छ । काठमाडौँमा बस्दै आएका अवस्थामा सरकारले घरटहरा भत्काइदिएपछि विस्थापित तीन परिवारले पुनःस्थापनाका लागि आफ्नै नगरपालिकामा घर निर्माण गरिदिन निवेदन दिएको नगरप्रमुख राईले जानकारी दिनुभयो ।
विस्थापित परिवार आफ्नो नगरपालिका फर्किएर स्थायी रूपमा बसोबास गर्न चाहेका खण्डमा उनीहरूका लागि रु पाँच लाख बराबरको लगानीमा भूकम्प प्रतिरोधी घर निर्माण गरिदिने नगरपालिकाले जनाएको छ । पुनःस्थापित हुन चाहने घरपरिवारका लागि घर निर्माण गर्न उनीहरूका नाममा जग्गा भने हुनुपर्ने जनाइएको छ ।