कैदी मृत्यु प्रकरण : घटनामा संलग्न १० प्रहरीसहित १५ नियन्त्रणमा

549

खाँदबारी, २६ साउन । सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा भएको घटनाको अनुसन्धानका लागि १० प्रहरीसहित १५ जनालाई नियन्त्रणमा लिइएको छ ।

कारागारमा कुटपिटबाट सङ्खुवासभाको मादी नगरपालिका–५ का कैदी १९ वर्षीय विनोद तोलांगी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो । कैदी मादी–५ का तोलांगी र ककनी–७ का २८ बलामीको कुटपिटबाट मृत्यु भएको सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्र गोदारले पुष्टि गरे ।

कारागारको शौचालयको झ्यालका रड काटेर भाग्ने खोजेको भन्दै कैदी तोलांगी र बलामीलाई बुधबार बिहान १ बजेतिर प्रहरीले नियन्त्रणमा लिएको थियो । कुटपिटमा कारागारको सुरक्षामा खटिएका प्रहरीको समेत प्रत्यक्ष संलग्नता देखिएको बताइएको छ । कारागारमा रहेको सिसिटिभी फुटेज अध्ययनबाट प्रहरीले कैदीलाई कुटपिट गरेको देखिएको हो ।

फुटेज हेरेपछि कारागारको सुरक्षामा खटिएका १० प्रहरीसहित १५ जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरू गरिएको डिएसपी गोदारले बताए । पीडित पक्षको किटानी जाहेरी आएपछि म्याद थप गरेर घटनामा संलग्नमाथि थप अनुसन्धान गरिने डिएसपी गोदारले बताए । कुटपिटमा कारागारको सुरक्षामा खटिएका प्रहरी र चौकीदार, नाइके, बडानाइकेसहित ५ कैदीबन्दी संलग्न भएको देखिएको छ । नियन्त्रणमा लिएका १५ जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कारागारको सुरक्षामा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा २० प्रहरी परिचालन गरिएका थिए । घटनामा प्रहरीको संलग्नता देखिएपछि प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीसहित १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कैदीको मृत्यु भएको घटनको अनुसन्धानका लागि भनेर प्रहरीले कारागारका चौकीदार रामकुमार कार्कीसहित ९ कैदीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ । उक्त घटना कारागारको ‘ए ब्लक’मा भएको हो । सो ए ब्लकमा ६६ कैदीबन्दी रहेका थिए ।

घटनापछि जिल्ला सुरक्षा समितिले सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा बुधबार तीन सदस्यीय छानबिन समिति बनाएको थियो । समितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनाल र प्रशासन कार्यालयका नायब सुब्बा तारणी घिमिरे सदस्य रहेका छन् ।

त्यसैगरी कोशी प्रदेश प्रहरी कार्यालयले पनि प्रहरी उपरीक्षक ऋषिराम कँडेलको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति बनाएको छ । समितिमा प्रहरी निरीक्षक जितेश दाहाल, प्रहरी नायब निरीक्षक रूद्रबहादुर खड्का र हवल्दार तीर्थ भट्टराई सदस्य छन् । कोशी प्रदेश प्रहरीको छानबिन समितिले बिहीबारदेखि काम सुरू गरिसकेको छ ।

गृह मन्त्रालयको छानबिन समितिको अनुसन्धान सुरू
जिल्ला कारागारमा दुई कैदीको शंकास्पद मृत्यु भएको आरोप लागेपछि गृह मन्त्रालयलेसमेत छानबिन समिति गठन गरेको छ । गृह मन्त्रालयको कारागार व्यवस्थापन विभागका निर्देशक एवम् प्रवक्ता कमलप्रसाद पाण्डेको संयोजकत्वमा ५ सदस्यीय छानबिन गठन गरेको छ ।

समितिमा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकी, राष्ट्रिय अनुसन्धानका नायब उपरीक्षक कुमार बुढाथोकी, कारागार विभागका कानुन अधिकृत तुलबहादुर खड्का र जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रशासकीय अधिकृत सदस्य रहेका छन् । गृह मन्त्रालयको छानबिन टोली आज सङ्खुवासभा आइपुगेको हो । टोलीले आजदेखि अनुसन्धान सुरू गरेको छ । अहिले सङ्खुवासभा कारागारमा ८ महिलासहित १३६ कैदीबन्दी छन् ।

सम्बन्धित समाचार 

 

Share This:
सम्बन्धित खबर
Loading...