मकवानपुरमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु

89

मनहरी, २३ असार । मकवानपुरमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । आज बिहान पौने २ बजे मनहरी गाउँपालिका–६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्व–पश्चिम सडकखण्डमा हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना६ख ६३१ नम्बरको ट्रक एकापसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए ।

दुर्घटनामा तीनजनाको ज्यान गएको कार्कीले बताए । मृत्यु हुनेमा ना६ख ६६६७ नम्बरको ट्रक चालक जिल्ला चितवन राप्ती नगरपालिका–८ बस्ने वर्ष २८ को रिहान रुम्बा तामाङ, सहचालक जिल्ला गोरखा गण्डकी गाउँपालिका–२ गोर्दीटार बस्ने वर्ष २१ को सुमन चेपाङ र ना६ख ६३१ नम्बरको ट्रक सहचालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका–३ बस्ने वर्ष २० को अमृत प्रजा रहेको कार्कीले बताए ।

आगलागी भएको सवारी निभाउन हेटौँडाबाट दुई वटा दमकल आई आगो निभाए पनि सवारी पूर्ण क्षति भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दुई जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा ना६ख ६६६७ नम्बरको ट्रकमा सवार जिल्ला चितवन राप्ती नपा ३ बस्ने वर्ष ३५ को विवेक तमाङ र ना६ख ६३१ नम्बरको ट्रक चालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका३ बस्ने वर्ष ३२ को अर्जुनकुमार प्रजा रहेको बताइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...