विदेशी नागरिक बनेर ८ लाख ठगेपछि…

26

काठमाडौँ, १२ असार । एक महिलाले विदेशी नागरिक बनेर माया जालमा पारी ८ लाखभन्दा बढी रकम ठगी गरेकी छन् । त्यसरी मानिसहरूलाई मायाजालमा फसाएर रकम ठगी गर्ने व्यक्ति ललितपुरको गोदावरी नगरपालिका–८ बस्ने ४० वर्षीया चण्डिका पोखरेल भएको खुल्न आएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले सामाजिक सञ्जालबाट चिनजान गरी मन पराउँछु, माया गर्छु र नेपाल आएर विवाह गरी विदेश लैजान्छु भन्दै मायाजालमा पारेर रकम ठगी गरेको पाइएको छ ।

त्यसरी विश्वासमा पारी पहिलो चरणमा सामान पार्सल पठाएको छु भनी त्यसका लागि कस्टम चार्ज, डलर चार्ज वापतको रकम बुझाउनुपर्ने भन्दै विभिन्न व्यक्तिको नाममा पैसा पठाउन लगाएर ठगी गरेको पाइएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । उनले भने, “सुरूमा त्यसरी जाहेरी आएपछि यस्तो विदेशी नागरिक को रहेछ भनेर अनुसन्धान गर्दै जाँदा विदेशीको नाम राखेर ठगी कार्य गर्ने ललितपुरका महिला भएको पहिचान भयो ।”

सुरूमा उनले सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर, ह्वाट्सएपसमेत चलाउने व्यक्तिहरूलाई सम्पर्क गर्ने र त्यसपछि आफू इंग्ल्यान्डको एल्भिस मार्टिन भएको बताउने गरेको अनुसन्धानबाट थाहा भएको छ । प्रहरीका अनुसार विदेशी नागरिक भनेपछि नेपालीहरू त्यसै लोभिन्छन् । त्यसमाथि उनी पीडितलाई साथी भइ म्यासेजमार्फत् कुराकानी गर्दा पीडितलाई फोटो पठाउन लगाइ तिमीलाई मन पराउँछु, माया गर्छु भनी ह्वाट्सएपबाट सम्पर्क गर्न थाल्छिन् ।

म नेपालमा आएर तिमीलाई विवाह गरी लैजान्छु, गिफ्ट पठाइ दिन्छु, सुनका गरगहना, घडी, आइफोन डलरसहितको लगेज पठाइ दिएको छु भनेर पीडितलाई विश्वासमा पार्ने गरेको प्रहरीले जनाएको छ । त्यसबेला उनले पीडितलाई प्रलोभनमा पारी विदेशी जस्तो देखिने नम्बरमार्फत् कुराकानी गरी विश्वास जितेपछि सामान पठाइदिएको र तपाईंको सामान पाउनका लागि कस्टम चार्ज, डलर चार्जवापतको रकम विभिन्न व्यक्तिको खातामा रकम पठाउन लगाउने गरेको खुलेको छ ।

उनले पटक–पटक गरी जम्मा ८ लाख ४० हजार रकम पठाउन लगाएपछि ठगिएको थाहा पाइ पीडितहरू प्रहरीमा आइपुगेका छन् । उनलाई पक्राउ गरी ठगीसम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरबाट अहिले आवश्यक अनुसन्धान एवम् कारबाही थालिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...