नक्कली शरणार्थी प्रकरण : अभियुक्ततर्फका कानुन व्यवसायीले आजदेखि बहस गर्ने

60

काठमाडौँ, २४ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्ततर्फका कानुन व्यवसायीले आजदेखि बहस गर्ने भएका छन् । सरकारी वकिल र जाहेरवालाको तर्फबाट मंगलबार बहस सकिएपछि आजदेखि अभियुक्तका वकिलहरूले बहस गर्ने भएका हुन् ।

यस मुद्दामा गत आइतबारदेखि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भइरहेको छ । बहसका लागि पूर्वमहान्यायाधिवक्तादेखि नेपाल बार एसोसिएसनका अध्यक्षसमेतले नाम टिपाएका छन् ।

अभियुक्तहरूको बयान लिइएको क्रमका आधारमा बहस हुने भएको छ । आजदेखि सुरू हुने बहसमा सबैभन्दा पहिला केशव दुलालका कानुन व्यवसायीले बहस गर्ने छन् ।

न्यायाधीश न्यौपानेले बहसका लागि आगामी मंगलबारसम्मको समय तोकेका छन् । त्यसपछि सरकारी वकिलको तर्फबाट जबाफी बहस हुने छ । बहस सकिएपछि अदालतले थुनछेक आदेश दिने छ । अदालतले थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा छाड्ने भन्ने आदेश दिने छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १८ जनालाई थुनछेक बहसका लागि उपस्थित गराइएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पक्राउ परेका १८ जनासहित फरार रहेका ३० जनालाई संगठित अपराध, कीर्ते, ठगी तथा राज्यविरूद्धको आरोप गरी ४ वटा मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला अदालत काठमाडौँमा यही जेठ १० गते मुद्दा दायर गरेको थियो ।

सम्बधित समाचार

Share This:
सम्बन्धित खबर
Loading...