प्रदेश १ को नाम ‘कोसी प्रदेश’

68

काठमाडौँ, १७ फागुन । प्रदेश नम्बर १ को नाम कोसी प्रदेश राख्ने प्रस्ताव बहुमतले पारित भएको छ । कोसी प्रदेशको पक्षमा ८२ र विपक्षमा ४ मत परेको छ ।

प्रदेशसभाको पहिलो कार्यकालको पाँच वर्ष र दोस्रो कार्यकालको औपचारिक सुरूवात भएको ६२औँ दिनमा बुधबार प्रदेश १ ले ‘कोसी’ नाम पाएको हो ।

प्रदेशसभाले संविधानको धारा २९५ को उपधारा २ बमोजिम प्रदेशको नामाकरणका लागि प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) को नियम ५८ ख १ बमोजिम प्रस्ताव आह्वान गरेको थियो ।

सत्तारूढ नेकपा (एमाले)को प्रस्तावमा मुख्य विपक्षी नेपाली कांग्रेस, सत्तारूढ नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले समर्थन जनाउँदा प्रदेश नामाकरण दुई तिहाइभन्दा बढी मतले पारित भएको हो ।

बुधबार प्रदेशसभामा भएको मतदान प्रक्रियामा ४ जना प्रदेश सांसद अनुपस्थित रहे । नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले भने प्रस्तावको विपक्षमा मतदान गरेको थिए ।

कोसी प्रदेशको प्रस्तावमाथि एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राई र कमल जवेगुले ‘किरात लिम्बूवान सगरमाथा’ नामको संशोधन प्रस्ताव दर्ता गरेका थिए । तर, संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...