काठमाडौ, ११ फागुन । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ताका लागि जस्तोसुकै सम्झौता गर्ने र आफ्नो मूल्य एवम् आदर्शलाई पन्छाएर सत्ता नै अन्तिम सत्य मान्ने भ्रमबाट आफ्नो पार्टी मुक्त रहेको बताएका छन् ।
एमालेको संगठन सुदृढीकरणका लागि सञ्चालित ‘मिसन ग्रासरूट’ अभियानका सन्दर्भमा ‘निर्वाचनपछिको राष्ट्रिय राजनीति, नयाँ सत्ता सहकार्य, अवसर एवम् चुनौती’बारे उल्लेख गर्दै उनले गत पुस १० गते सहमतिका आधारमा प्रतिनिधिसभा र प्रदेशसभामा राजनीतिक दलको शक्ति सन्तुलनमा सरकार गठन हुनुमा राजनीतिमा आएको सकरात्मक परिवर्तन भएको बताए ।
अध्यक्ष ओलीका अनुसार सरकारले आफ्नो नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरिसकेको छ भने पुँजी बजारमा सकारात्मक प्रभाव देखिएको छ ।
“विदेशी मुद्रा सञ्चितिमा सुधार, विप्रेषणमा वृद्धि एवम् अनावश्यक खर्च कटौती जस्ता सुधारका कदमले संकटग्रस्त अर्थतन्त्रका क्षेत्रमा सकरात्मक सुधार देखिनुका साथै प्रदेशमा १६ वटा मन्त्रालय घटाउने निर्णयले जनतामा राम्रो प्रभाव पारेको छ,” अध्यक्ष ओलीले भने ।
वर्तमान सरकारका काम सकारात्मक रहेको टिप्पणी गर्दै उनले सत्ता सहकार्यलाई भत्काएर पुरानै गठबन्धन स्थापित गर्ने र नेपाललाई अस्थिरतातिर धकेल्ने काम भएको र यसले लोकतन्त्रलाई कमजोर बनाउने दाबी पनि गरे ।
उनले पार्टी राष्ट्रियहित, स्वभिमान र परिणाममुखी नतिजाका लागि जनताका पक्षमा उभिएको पनि सो निर्देशनमा उल्लेख गरे । साथै दाउपेच, षड्यन्त्र र विश्वासघातमाथि आधारित राजनीतिको आयु लामो नहुने पनि अध्यक्ष ओलीको भनाइ छ ।