काठमाडौँ, १० फागुन । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्रीहरूलाई राष्ट्रपतिको उम्मेदवार बनाउनु नहुने बताएका छन् । बुधबार नयाँ बानेश्वरस्थित संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्रीहरूलाई राष्ट्रपतिको उम्मेदवार बनाउनु नहुने बताएका हुन् ।
उनले देशको प्रधानमन्त्री भएर कार्यकारी अधिकार प्रयोग गरिसकेको व्यक्तिहरूलाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सार्नु उचित नहुने बताए । उनले पूर्वप्रधानमन्त्रीहरूलाई राष्ट्रपति बन्ने आकांक्षा नराख्न पनि अनुरोध गरे ।
महामन्त्री शर्माले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाइनु पर्ने उनको भनाइ थियो ।
“मैले शेरबहादुर देउवालाई राष्ट्रपति बनाउँ भनेको हो । तर, फेरि म साथीहरूको छलफलबाट के कुरामा सहमत छु भने देशको प्रधानमन्त्री भइसकेर, कार्यकारी अधिकारीलाई प्रयोग गरिसकेका कुनैपनि पूर्वप्रधानमन्त्रीहरूले राष्ट्रपति बन्ने आकांक्षातर्फ जानु, अझ उहाँहरूलाई अगाडि सार्नु त्यति उचित नहोला भन्ने साथीभाइहरूको भावनासँग मत एकदम सहमत छु,” उनले भने,“त्यसकारणले चाहे शेरबहादुर देउवा, चाहे माधवकुमार नेपाल, चाहे बाबुराम भट्टराई उहाँहरूले कार्यकारी अधिकार प्रयोग गरिसकेर देशको प्रधानमन्त्रीको नेतृत्व गरिरहनुभएको छ । त्यसकारण उहाँहरू समेतको सहभागिता र समर्थनमा रामचन्द्र पौडेल वा अन्य नेताहरूलाई अगाडि सारेर जानु बढी उचित हुन्छ ।”