प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटारमा

37

काठमाडौँ, १० फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन् । राष्ट्रपतिको निर्वाचनका लागि मनोनयन दर्ता गर्न दुई दिनमात्र समय बाँकी रहँदा ओली प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् ।

राष्ट्रपति चयनका लागि फागुन १३ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ ।

ओली र प्रचण्डबीच बाक्लो भेटवार्ता भए पनि राष्ट्रपति निर्वाचनमा दुई दल एक ठाउँमा उभिन सकेका छैनन् । प्रचण्डले एकतर्फ राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने बताइरहेका छन् भने अर्कोतर्फ कांग्रेसलाई राष्ट्रपति दिने वचन दिएका छन् ।

प्रचण्डले एमालेबाट राष्ट्रपति स्वीकार गर्ने पार्टीभित्र स्पष्ट गरिसकेका छन् । तर, एमालेलाई ठ्याक्कै मुख खेलेर भनेका छैनन् । यस्तो अवस्थामा दुई नेताबीच बालुवाटारमा भेट हुन लागेको हो ।

एमालेको साथ लिएर पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डलाई पुस २६ गते नेपाली कांग्रेसले पनि संसद्‌मा विश्वासको मत दिएको थियो । त्यसयता सत्तारूढ दुई दलका नेताबीच घन्टौँ छलफल भए पनि विश्वासको वातावरण बन्न सकेको छैन ।

Share This:
सम्बन्धित खबर
Loading...