काठमाडौँ, ८ फागुन । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले कांग्रेस सधैँ मजदुरको पक्षमा उभिने बताएका छन् । नेपाल यातायात मजदुर संघसँग आवद्ध रहेको नेपाल पर्यटन श्रमिक संघको तेस्रो राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले मजदुर आन्दोलनबाट जन्मेको कांग्रेस सधैँ मजदुरको पक्षमा उभिने बताएका हुन् ।
“कांग्रेसले सधैँ मजदुरको पक्षमा काम गर्छ, अरू दल मजदुरको पक्षमा बोल्छन् काम गर्दैनन्, कांग्रेस सधैँ मजदुरको पक्षमा छ, काम गर्छ,” उनले भने । प्रवक्ता डा.महतले मुलुकको अर्थतन्त्रको मेरूदण्डका रूपमा रहेको पर्यटन क्षेत्रलाई अगाडि बढाउन यस क्षेत्रमा कार्यरत मजदुरको महत्वपूर्ण भूमिका रहेको बताए ।
उनले कोरोनाका कारण धरासायी बनेको नेपालको पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्न यस क्षेत्रका व्यवसायी र मजदुरबीच सहकार्यको खाँचो रहेको उल्लेख गरे ।