काठमाडौँ, २५ माघ । सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने गरी दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।
प्रदेशसभाका सूचना अधिकारी युवराज जैशीले बिहीबार दिउँसो १ बजे बस्नेगरी आजको बैठक स्थगित गरिएको जानकारी दिए । प्रदेशसभाले सरकारको आग्रहमा बैठक स्थगित गरिएको जनाएको छ ।
आजको बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिने कार्यसूची तय भएको थियो । तर, मुख्यमन्त्रीले विश्वासको मत पाउन नसक्ने अवस्था बनेपछि बैठक स्थगित गरिएको बुझिएको छ ।
सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनाका कैदीबन्दी रिहा नभएसम्म मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेपछि मुख्यमन्त्री अप्ठ्यारोमा परेका छन् । उनले विश्वासको मत पाउन नागरिक उन्मुक्ति पार्टीको साथ आवश्यक छ ।
कानुनी प्रावधानअनुसार मुख्यमन्त्रीले विश्वासको मत लिने समयसीमाको भोलि अन्तिम दिन हो । उनी संविधान धारा १६८ को उपधारा (२) बमोजिम पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।