माया लुहार हत्या प्रकरण : हत्याका आरोपित महेन्द्रनगरबाट पक्राउ

80

काठमाडौँ, १९ मंसिर । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोप लागेका सशस्त्र प्रहरी जवान भरतराम कोली कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ परेका छन् । कोली आइतबार महेन्द्रनगरस्थित बसपार्क क्षेत्रबाट पक्राउ परेका हुन् ।

प्रहरी निरीक्षक भरत गिरिका अनुसार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले हत्यामा संलग्न रहेको आरोप लागेका बैतडीको शिवनाथ गाउँपालिका–४ घर भएका सशस्त्र प्रहरी जवान कोलीलाई पक्राउ गरेको हो । बिदामा घर आएका बखत मायाको हत्या गरेको कोलीमाथि आरोप छ । मायाका परिवारजनले कोलीविरूद्ध प्रहरीमा किटानी जाहेरी दिएपछि उनको खोज भइरहेको थियो ।

यही मंसिर १३ गते मायाको बैतडीमा घाँटी रेटेर हत्या गरिएको थियो । मायाको साथमा रहेकी नेहा लुहारको समेत घाँटी रेटेर हत्याको प्रयास गरिएको थियो । घाइते अवस्थामा भेटिएकी नेहाको हाल उपचार भइरहेको छ ।

बैतडीको शिवनाथ गाउँपालिका–६ स्थित शिवनाथ मन्दिर नजिकै मायाको शव फेला परेको थियो भने नेहा घाइते अवस्थामा भेटिएकी थिइन् ।

कास्कीको पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयमा कार्यरत कोली बिदामा घर आएका बेला उक्त घटना घटेको हो । घटनालगत्तै कोली गाउँबाट फरार रहेपछि हत्यामा उनको संलग्नता रहेको आशंका गरिएको थियो ।

प्रहरी स्रोतका अनुसार प्रारम्भिक बयानमा कोलीले मायाको हत्या गरेको स्वीकार गरेका छन् ।

याे पनि हेर्नुस्

माया लुहार हत्या प्रकरण : सशस्त्र प्रहरी जवानको नाममा किटानी जाहेरी

Share This:
सम्बन्धित खबर
Loading...