सङ्खुवासभामा निर्वाचनका लागि १९३८ सुरक्षाकर्मी परिचालन

34

खाँदबारी, २८ कात्तिक । सङ्खुवासभा जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा एक हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

निर्वाचनका लागि जिल्लामा ५१३ नेपाल प्रहरी, ९२५ म्यादी प्रहरी परिचालन गरिने भएको छ । स्वच्छ र भयरहित निर्वाचनका लागि नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानको विभागको जनशक्ति गरी एक हजार ९३८ सुरक्षाकर्मी परिचालन गरिने जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ ।

पाँच नगरपालिका र पाँच गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा एक निर्वाचन क्षेत्र छ । जिल्लामा आठ मतदानस्थल सुरक्षा संवेदनशीलताका हिसाबले अति संवेदनशील मानिएको छ । जिल्लाका एक सय आठ मतदानस्थललाई सुरक्षा संवेदनशीलका आधारमा वर्गीकरण गरिएको छ ।

जिल्ला सुरक्षा समितिले ती मतदानस्थललाई अति संवेदनशील मतदानस्थल भनी विश्लेषण गरेको छ । प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवका अनुसार १०३ मतदानस्थलमध्ये ८२ मतदानस्थल संवेदनशील र १८ मतदानस्थललाई सामान्यको सूचीमा राखिएको छ ।

सुरक्षा संवेदनशीलका हिसाबले तीन भागमा वर्गीकरण गरिएको प्रजिअ यादवले बताए । अति संवेदनशील मतदानस्थलमा चार हजार ९१ मतदाता रहेका छन् । मतदान केन्द्रलाई तीन भागमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाउने बताइएको छ । अति संवेदनशील मतदानस्थल तथा केन्द्रको सुरक्षा चुनौती हेरेर सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिने बताइएको छ ।

भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचदेखि टाढा, यातायात र सञ्चारको असुविधा यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदानस्थल तथा केन्द्र छुट्याइएको प्रशासनले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...