काठमाडौँ, २६ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य तथा काठमाडौँ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कुन्तीदेवी पोख्रेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले भन्दैमा जनताले सर्लक्कै गठबन्धनका उम्मेदवारलाई भोट नहाल्ने बताएकी छन् ।
काठमाडौँ महानगरपालिका–९ विजयचोक स्थिति मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा यस्तो बताएकी हुन् । पोख्रेलले काठमाडौँ क्षेत्र नम्बर २ की प्रतिस्पर्धी ओनसरी घर्तीलाई गठबन्धनको भोटले चुनाव जित्छु भनेर ढुक्क पर्नु भनेको ‘मनको लड्डु घिउसँग खानेजस्तो हो,’ भनेकी छन् ।
पोख्रेलले माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवाले भन्दैमा जनताले नमान्ने जिकिर गरिन् । उनले गठबन्धनप्रति कांग्रेसमा व्यापक असन्तुष्टि भएका कारण पनि भोट बाँडिने र त्यो भोट आफूलाई आउने दाबी गरिन् ।
माओवादीभित्र पनि एउटै व्यक्तिलाई दोहोर्याएर अवसर दिएको पुराना दुःख गरेकाले ठाउँ नपाएकोप्रति व्यापक असन्तुष्टि रहेकाले गठबन्धनका उम्मेदवारलाई भोट नआउने पोख्रेलले बुझाइ छ ।
उता माओवादीबाट विद्रोह गरी पूर्वलडाकु भगवती ढकालले स्वतन्त्र उम्मेदवारी दिएकाले पनि माओवादीको भोट बाँडिने बताइन्छ । एमालेका उम्मेदवार मणिराम फुयाल पनि एक पटक लाभको पदमा पुगिसकेकाले उनीप्रति पनि खासै आकर्षण देखिँदैन ।
भेटघाट कार्यक्रमा उनले धर्म निरपेक्षताका कारण राजनीतिक संस्कार र थिति बिथोलिएकाले त्यसलाई सही लिकमा ल्याउन आफूले उम्मेदवारी दिएको बताइन् । पूराना दलहरुमा संस्कारको राजनीति गुमेर स्वार्थको राजनीति विकास भएकाले संस्कारको राजनीति स्थापित गर्न आफूले उम्मेदवारी दिएको बताइन् ।