छिटो आर्थिक क्रान्ति गर्न गोरखा २ रोजेको हुँ : प्रचण्ड

34
  • राजेन्द्र न्यौपाने

गोरखा, २४ कात्तिक । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक अवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन नभएकाले आर्थिक क्रान्ति सम्पन्न गर्न गोरखा आएको बताएका छन् ।

बिहीबार जिल्लाको अजिरकोट गाउँपालिका वडा नम्बर १ स्थित याच्चोकमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘राजनीतिक परिवर्तनको तयारी गोरखाको यही भूगोलबाट गरेको हुँ, राजनीतिक परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन भएन, जनतालाई समृद्ध बनाउन र देशमा आर्थिक क्रान्ति गर्न गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा आएको हुँ।’

निर्वाचनबाट चुनिएर समग्र गोरखाको विकास निर्माणलाई पूर्णता दिने भन्दै उनले भने, ‘मैले यसअघि जितेको चितवनमा ६११ किमि बाटो कालोपत्र भएको छ। म हिँडेको धुलेबाटोहरु मेरै कार्यकालमा कालोपत्र गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

विद्युत्‌को राष्ट्रिय प्रसारण लाइन ल्याउन आफूले पहल गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारी वृद्धि गर्ने, गाउँमा जडिबुटी उद्योग स्थापना गर्ने, हिमाली पर्वतीय पर्यटकीय क्षेत्रको विकास गर्ने र समृद्धिको सन्देश गोरखाबाट देश र विश्वभरि दिने उनले बताए ।

राजनीतिक क्रान्तिका लागि गोरखा जसरी उर्वर भूमि बन्यो त्यसरी नै समृद्धिको नयाँ क्रान्तिका लागि गोरखा उपयुक्त रहेको आफ्नो ठम्याइ रहेको उनको भनाइ थियो ।

आर्थिक क्रान्तिको यात्रामा सबैको साथ र सहयोगको अपेक्षा गरेको उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...